काठमाडौँः आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ ।

मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने गर्दछ । “आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ”, उनले भने । पछिल्लो केही दिनयता अपराह्न तथा साँझपख मौसम बदली भई हल्का वर्षा भएको थियो । प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्न तथा साँझापख मौसममा परिवर्तन भएको मौमसविद्को भनाइ छ । अबको तीन दिन भने मौसम सफा हुने बताइएको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव तीन डिग्री र अधिकतम तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । -रासस