इटहरीः प्रधानमन्त्री के.पी शर्मा ओलीले फागुन ८ गते एक नम्बर प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्ने कार्यक्रमलाई समर्थन गर्ने उद्देश्यले ओली समर्थकहरुले आज सुनसरीको इटहरीदेखि इनरुवासम्म मोटरसाइकल र्याली सम्पन्न गरेका छन् ।
राष्ट्रिय युवा संघ सुनसरीकाृ आयोजनामा इटहरीबाट सुरु भएको मोटरसाइकल र्याली इनरुवामा कोणसभा गरी सम्पन्न भएको थियो । उक्त र्यालीमा करिब तीन हजार पाँच सय मोटरसाइकलको उपस्थिति रहेको राष्ट्रिय युवा संघ जिल्ला कार्यालय सदस्य सुजन लामाले बताए । कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका सचिव देवानन्द मेहताले आजको मोटरसाइकल र्यालीले युवाहरूको क्रेज ने.क.पा अध्यक्ष के.पी शर्मा ओलीको पक्षमा रहेको बताए । कोणसभाका प्रमुख अतिथि तथा ने.क.पा जिल्ला अध्यक्ष रेवतिरमण भण्डारीले सुनसरी जिल्लामा के.पी शर्मा ओलीको पक्षमा जनलहर छाएकाले सुनसरी पुनः नेकपाकै लालकिल्ला हुने जिकिर गरे ।
देश नै ओलीमय भएकाले प्रचण्ड माधव समूहमा कार्यकर्ताको उत्साह नरहेको उनको भनाइ थियो । राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष अरुण गुरुङले सुनसरीका अधिकांश युवाहरू प्रधानमन्त्री तथा नेकपा अध्यक्ष के.पी शर्मा ओलीको पक्षमा रहेको धारणा राखे । उनले सबै युवाहरूलाई फागुन ८ गते विराटनगरमा हुने बृहत् भेलामा सरिक हुन सबैलाई अनुरोध गर्दै कोणसभा समापन गरे ।