इटहरीः इटहरी उपमहानगरपालिकाको सबैभन्दा धेरै जनघनत्व भएको र भौगोलिक हिसाबले पनि ठूलो वडा नं. ९ को भाडामा बसेर कार्यालयको सेवा प्रवाह गर्नुपर्ने बाध्यता हट्ने भएको छ ।

भवन अभावका कारण भाडाको भवनमा दैनिक कामकाजका कार्य गर्दै आएको वडाको कार्यालयको भवन शिलान्यास भएको छ । इटहरीको हटियालाइनमा निर्माण हुने उक्त वडा कार्यालय भवनको एक समारोहबीच उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले शिलान्यास गरेका छन् । त्यस अवसरमा उनले निर्धारित समयमै निर्माण कार्य सक्न र भवन संहिताको पूर्ण पालना गर्न निर्माण कम्पनीलाई निर्देशनसमेत दिए । सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुका साथै स्थानीय समुदायलाई निगरानी र समन्वय गरेर काममा सघाउन पनि मेयर चौधरीले आग्रह गरे ।

वडा कार्यालयको भवन निर्माणमा जिल्ला विकास समितिको ५० लाख लगानी रहनेछ भने बाँकी रकम इटहरी उपमहानगपालिकाले जुटाउनेछ । दुई तले उक्त भवन ६ कोठाको रहने र चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने योजना रहेको इटहरी उपमहानगरपालिका वडा न ९ का अध्यक्ष भूपेन्द्र बरालले बताएका छन् । वडा कार्यालयको भवन निर्माण भएपछि अझ सकृय रुपमा सर्वसाधरणले सेवा सुविधा पाउनेमा स्थानीय ढुक्क बनेका छन् ।