इटहरीः सुनसरीको इटहरीमा रहेको वसपार्क व्यवस्थापन समितिको दोश्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले योगप्रसाद सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ व्यवस्थापन समिति गठन गरेको छ । निर्वाचन अधिकृत दीपक ढकालका अनुसार एक सय ४४ जना सदस्य रहेको यस समितिको नयाँ समितिको उपाध्यक्षमा देवराज थापा, सचिवमा महेशकुमार घिमिरे र सह–सचिवमा तारा वन नियुक्त भएका छन् । यस्तै, समितिको कोषाध्यक्षमा रमेश न्यौपाने र सदस्यमा शम्शेर बहादुर गिरी, पवित्रादेवी वाग्ले, टंकप्रसाद घिमिरे, दलबहादुर प्रधान, योगेन्द्र गिरी र लक्ष्मी खतिवडा नियुक्त भएका छन् । २०७४ सालमा पहिलो पटक साउन २१ गते इटहरीमा बसपार्क व्यवस्थापन समिति बनेको थियो ।
बाबुराम गिरी अध्यक्ष रहेको पहिलो समितिले कार्यकालभरि ४२ पटक बैठक बसेको र बसपार्कको व्यवस्थापनको लागि स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न काम गरेको जानकारी दिएको छ । शनिबार इटहरी उपमहागनरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भूपेन्द्र बरालको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच नयाँ समिति गठन भएको थियो । यहाँको बसपार्कलाई व्यवस्थित गर्न इटहरी उपमहानगरले डिपीआर तयार गरेर कार्यक्रममा प्रस्तुत गरेको थियो । डिपीआर अनुसार यहाँ तीन तलाको भवनसँगै बसपार्क वरिपरी ड्रेन लगाइने र वातावरणमैत्री बनाउन बोटबिरुवा लगाइने बताइएको छ । भवन निर्माणको लागि तीन करोड र ड्रेन तथा अन्य कामको लागि तीनदेखि चार करोडसम्म लाग्ने वडाको प्रारम्भिक अनुमान रहेको छ ।