धरानः धरान औद्योगिक क्षेत्र तीनकुनेमा रहेको व्यापारी रोशन सोनीको सूर्य कत्था उद्योगमा बिहीबार साँझ आगलागी भएको छ । आगलागीबाट १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

५ वटा दमकलले निभाए आगो
साँझ ६ बजे लागेको आगो आगो निभाउन धरान, इटहरी र सुन्दरहरैंचाको गरी ५ वटा दमकल प्रयोग भएका थिए । दमकलका साथै जनपद, सशस्त्र र नेपाली सेनाले आगो निभाएका थिए । साँझ ८ बजे पूर्ण रूपमा आगो नियन्त्रणमा आएको थियो ।

सो उद्योग औद्योगिक क्षेत्रको भित्री भागमा रहेका कारण दमकललाई आगो नियन्त्रणमा समस्या भएको थियो ।

१० वर्ष अघिदेखि खयरको काठलाई प्रशोधन गरेर कत्था उत्पादन गर्ने गरी उद्योग स्थापना भएको थियो । सो कत्था भारतीय गुट्खा उद्योगमा जाने गरको थियो । इलाका प्रहरी कार्यालय धरानका अनुसार बिजुली सट भएर आगो लागेको अनुमान छ ।