इटहरीः प्रदेश १ को प्रदेशसभा बैठक फागुन ९ गते सम्मका लागि स्थगित भएको छ ।

दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठक ३ः५८ बजे सुरु भएकोमा सत्तापक्षका सांसदहरुले नै अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले फागुन ९ गते बस्नेगरी बैठक स्थगित गरे । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नै संसद बैठक सञ्चालनमा अवरोध गरेको हो । पार्टीका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले मुख्यमन्त्री शेरधन राईले कारबाही गरेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा बस्न नदिने भन्दै उठेर अवरोध गरेका थिए । अवरोधका कारण बैठक सञ्चालन हुन नसकेपछि मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने काम हुन सकेन ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै सो प्रस्तावलाई विफल बनाउन सत्तापक्षले प्रदेशसभामा विभिन्न हत्कण्डा मच्चाउँदै आएको छ । माघ ७ गते आह्वान गरिएको हिउँदे अधिवेशन सत्तापक्षकै अवरोधका कारण तीन मिनेटमै स्थगित भएको थियो । त्यसयता बस्न नसकेको बैठक आज बसेपनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएपछि अविश्वास प्रस्ताव अलमलमा परेको छ ।