सङ्खुवासभाः नेपालीहरूको महान पर्व बडादशैंले बजारमा चहलपहल छ । बजारका प्रायः सबै पसलहरूमा किनमेल गर्नेहरूको घुइँचो छ । खाद्यान्न, कपडा आदि सामग्री किन्नेहरूको निकै नै चहलपहल छ आजभोलि । खाँदबारीका व्यपारीहरू अरुबेला भन्दा दशंैमा अलि बढी किनबेच भएको बताउँछन् । तर पोखरी बजारको एक छेउमा जडिबुटीको व्यापार गरिरहेकी पेक्पा भोटेको पसलमा भने बाह्रैमास उत्तिकै ग्राहक हुन्छन् ।

जिल्ला सदरमुकामस्थित पोखरी बजारको दोबाटोमा केही सामानको खुला पसल छ । यो पसल ४२ वर्षीया पेक्पा भोटेले चलाउँदै आएकी छिन् । उनले सानैदेखि जडिबुटीको व्यापार गरे पनि करिब ९ वर्षअघि सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ हुङगुङ आएर व्यापार गर्दै आएकी हुन् ।

सङ्खुवासभाको खाँदबारी बजार र जिल्लाका ग्रामीण हाटबजारमा व्यापार गरी उनले जीविका चलाउँदै आएकी छिन् । जडिबुटी बेचेरै उनले छोराछोरीको पढाइका लागि खर्च पु¥याउँछिन् । उनका पति पनि जडिबुटी बिक्री गर्न अन्य ठाउँ जाने गर्छन् । दुवै जना काँचो सिम्रिक, यार्सागुम्बा, फिटकिरी, चिप्लेकिरा, बिखुमालगायतका औषधीजन्य जडिबुटी बेच्दै हिँड्ने गर्छन् ।

jadibut  (2)

‘खोइ किन हो, यत्तिका वर्ष भयो तर खाँदबारी छाडेनौँ । यही व्यापार गर्दै घरखर्च उठ्ने गरेको छ’, उनले भनिन्, ‘हामी व्यापार गर्दै हिँड्छौँ । यही व्यापारको पैसाले छोराछोरी पढाउन सकिएको छ । अन्य आम्दानी केही छैन । मेरो त सदाबहार व्यापार हो ।’
उनीहरूले जिल्लको भोटखोला तथा सभापोखरी क्षेत्रबाट आयुर्वेदिक सामान मात्र नभई उत्तरी सोलुखुम्बु समेतबाट चम्मर (चौँरीगाईको पुच्छर) ल्याएर बिक्री गर्ने गरेका छन् । चमर प्रतिगोटा २ हजारदेखि ५ हजार ५ सय रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको उनले सुनाइन् ।

घर गर्जो टार्न विभिन्न ठाउँमा व्यापार गर्न गए पनि प्रायजसोः पेक्का खाँदबारीको पोखरी बजारमा व्यापार गर्छिन् । अरु व्यवसाय गर्नको लागि दह्रो आयस्रोत नरहेको उनले सुनाइन् । उनले भनिन्, ‘यही जडिबुटी बेचेर घर खर्च टारिएको छ अन्य व्यवसाय गर्न आयस्रोत पनि छैन । सानैदेखि यसैमा ज्ञान भयो, यही बेच्छौँ ।

उनीहरू दुवै जना निरक्षर भएको र घरमा आम्दानीको बाटो केही नभएकाले छोराछोरीलाई पढाउन र घरको गर्जो चलाउन यही व्यापारलाई निरन्तरता दिने दम्पत्ति बताउँछन् ।