इटहरीः अहिले सुनसरीको इटहरी उपमहानगपालिका वडा नम्बर ५ मा रहेको काव्यवाटिका पुनः एकपटक चर्चामा आएको छ ।
कुनै बेला क्यान्सर अस्पताल बनाउने तयारी थाल्दा चर्चामा आएको यो ठाउँ अहिले वडा कार्यालय र स्वास्थ्य चौकी बनाउन लागिएकाले चर्चामा आएको हो । काव्यवाटिकाको विषयमा अहिले स्थानीय र कालकारबीच मातान्तर देखिएको छ । कलाकार यहाँ भौतिक संरचना बनाउन नहुने पक्षमा छन् भने, स्थानीय यहाँ वडा कार्यालय र स्वास्थ्य चौकी बन्नुपर्छ भनिरहेका छन् । तीन बिघा क्षेत्रफलमा फैलिएको काव्यवाटिकामा इटहरी उपमहानगरपालिकाले अहिले स्वास्थ्य चौकी निर्माणको कामलाई तिव्रता दिइरहेको छ । वडा कार्यालय बन्ने पनि लगभग पक्का नै भएको छ । यो विषयले यहाँका कलाकार र स्थानीय दुई धारमा बाँडिएका छन् । कलाकार र स्थानीयबीच अहिले सामाजिक सञ्जालमा टिकाटिप्पणी बढिरहेको छ ।
काव्यवाटिकाका परिकल्पनाकार तथा संस्थापक विक्रम श्रीले सामाजिक सञ्जाल फेसबुकमा गत बुधबार काव्यवाटिकाको विवाद प्रकरणमा छलफल गर्न आउनु भन्दै पोस्ट गरेका थिए । उनले स्थानीयलाई पनि आउन त्यसमार्फत् अनुरोध गरेका थिए । ‘काव्यवाटिकाको विषयमा आज बुधबार ३ बजे इटहरीको म्याट्रीक्स परिसरमा छलफल हुने भएकाले सम्पूर्ण कलासाहित्य अनुरागी, पत्रकार साथीहरु र काव्यवाटिका क्षेत्रका स्थानीय दाजुभाइ दिदीबहिनीहरुमा उपस्थितिका लागि अनुरोध छ’, उनले गरेको पोस्टमा लेखिएको छ । उनले बोलाएको छलफलमा अरु उपस्थित भए पनि स्थानीय आएनन् । बुधबार भएको छलफलमा कवि तथा पत्रकार सुविद गुरागाईको संयोजकत्वमा काव्यवाटिका संरक्षण सरोकार समूह पनि गठन भएको छ । यो विषयमा पनि स्थानीयले आपत्ति जनाएका छन् । स्थानीय मध्येका एक बालकृष्ण गौतमले काव्यवाटिकाको विवाद समाधान अन्य ठाउँमा बसेर नहुने भन्दै छलफल औचित्यहिन भएको बताए ।
‘काव्यवाटिकाको विषयमा हुने कुनै पनि छलफल यहीँ हुनुपर्छ, उनले भने, ‘यसको बारेमा के गर्ने र के नगर्ने विषयमा छलफल गर्न हामी कसैको घर जाँदैनौँ ।’ उनीजस्तै यहाँका स्थानीयको पनि एउटै भनाइ छ, ‘काव्यवाटिकाको छलफल काव्यवाटिकामा नै हुनुपर्छ’ । अर्का स्थानीय कृष्णराम अधिकारीले पहिले यहाँ पटक पटक छलफल भएको तर कलाकार नै सहभागी नहुने सुनाए । ‘यहाँ स्वास्थ्य चौकी बनाउनुभन्दा पहिले पनि हामीले छलफल गरेका थियौँ । यहाँका स्थानीय र इटहरी उपमहानगरका साथीहरुले छलफल गर्यौँ। तर, कलाकार साथीहरु उपस्थित नै हुनुभएन । उहाँहरुलाई हामीले आउन जानकारी गराए पनि कुनै वास्ता गर्नुभएन’, उनले भने । कलाकारहरु कुनै हालतमा यहाँ स्वास्थ्य चौकी र वडा कार्यालय बनाउन नहुने अडानमा छन् । यता, स्थानीय भने धेरै कसरतपछि आफ्नै आँगनमा आएको विकासलाई स्थान्तरण गर्न चाहँदैनन् । इटहरी उपमहानगरपालिका पनि वडा कार्यालयको लागि खुल्ला र आवश्यक ठाउँ अन्यत्र नहुँदा यहीँ बनाउने अडानमा छ ।