इटहरीः पत्रकार महासंघ सुनसरी शाखाको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
इटहरीस्थित तालतलैयामा सम्पन्न साधारणसभामा शाखाको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिवेदनमा शाखाले हालसम्म पत्रकारको हकहित तथा क्षमता विकासका लागि गरेका कार्यहरुको विवरण प्रस्तुत गरिएको शाखाका सचिव हिमाल दाहालले बताए । उनका अनुसार महासंघको सुनसरी शाखाले पत्रकारको क्षमता विकासका लागि विभिन्न अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्नुका साथै पत्रकारहरुका लागि विभिन्न प्रशिक्षणसमेत आयोजना गर्दै आएको छ । शाखाले समस्यामा परेका पत्रकारहरुलाई विभिन्न समयमा आर्थिक सहायतासमेत उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, पत्रकारका सन्तानको निःशुल्क शिक्षाका लागिसमेत शाखाले पहल गरेको र थुप्रै पत्रकारका सन्तानले निःशुल्क शिक्षा प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ ।
यसैगरी, पत्रकारको पेसागत सुरक्षाका लागि पनि शाखाले आफ्नो तर्फबाट पहल गरेको प्रतिवेदनले देखाएको छ । साधारणसभाका क्रममा पत्रकारिता क्षेत्रमा लामो समयदेखि अनवरत रुपले कार्यरत व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै शाखाले स्थापना गरेका विभिन्न विधाका पुरस्कारसमेत वितरण गरिएको थियो । यसैगरी, महासंघको सदस्यता प्राप्त गरेका ५८ जना नयाँ सदस्यहरुलाई स्वागत गरिएको थियो भने अग्रज पत्रकारहरुबाट सन्देशमूलक सम्बोधनसमेत भएको थियो । जिल्लाका विभिन्न स्थानीय तहको सहकार्यमा पत्रकारहरुलाई प्रदान गरिएको लेखनवृत्ति प्राप्त गर्ने पत्रकारहरुलाई सो बापतको रकमसमेत वितरण गरिएको थियो । महासंघले जनही २० हजार रुपैयाँको लेखनवृत्ति प्रदान गरेको हो ।
नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष अमर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टको प्रमुख आतिथ्य रहेको थियो । महासंघको सुनसरी शाखाका सचिव हिमाल दाहालले सञ्चालन गरेको कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेल, सुनसरीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापा, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसी, धरान उपमहानगरपालिकाका मेयर तिलक राईलगायतको सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारीका साथै जिल्लाका विभिन्न स्थानीय तहका मेयरहरुको उपस्थिति रहेको कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी भने अनुपस्थित रहे । आयोजक संस्थाको औपचारिक निमन्त्रणाका बाबजुद इटहरी उपमहानगरपालिकाबाट मेयर चौधरी र उपमेयर लक्ष्मी गौतममध्ये कोही पनि उपस्थित नभएका हुन् । स्थानीय तहले नै आर्थिक सहयोग गरी सञ्चालन गरेको लेखनवृत्ति वितरणको कार्यक्रममा स्थानीय जनप्रतिनिधिको अनुपस्थितिप्रति सरोकारवालाले आश्चर्य प्रकट गरेका छन् ।
प्रस्तुत प्रतिवेदनमा मेयर द्वारिकलाल चौधरीले इटहरीका पत्रकार कृष्ण भट्टराई (बहाव), विकल रेग्मी लगायतमाथि २०७६ जेठ ८ गते उपमहानगरपालिकाको कार्यालय परिसरमा समाचार संकलनका क्रममा दुव्र्यवहार गरेको र सोही प्रसंगमा पत्रकार विराट अनुपमलाई सोही वर्षको जेठ २१ गते फोनमार्फत् नाकको डाँडी भाँच्न एक करोड छुट्याएको छु भन्दै मेयर चौधरीले धम्की दिएको प्रसंगसमेत उल्लेख भएकाले कार्यक्रममा उपमहानगरपालिकाबाट जनप्रतिनिधि सहभागी नभएको आँकलन गरिएको छ ।