इटहरीः प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर द्वन्द्वको संकेत गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालले बताएका छन् ।

सोमबार सुनसरीको इटहरीमा नेपाली कांग्रेसका संयुक्त भ्रातृ संगठनले आयोजन गरेका विरोधसभालाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्रीको यो कदमले द्वन्द्वको संकेत गरेको बताए हुन् । प्रधानमन्त्रीले संसद विघटन गरेपछि देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको उनले आरोप लगाए । उनले प्रधानमन्त्रीको यो कदमलाई २०६१ साल माघ १९ गते शासनसत्ता हातमा लिएर तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको ‘कू’ सँग तुलना गरे । ‘देश अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ । प्रधानमन्त्रीको यो कदमले फेरी एकपटक द्वन्द्व हुन्छ कि भन्ने शङ्का हाम्रो मनमा परेको छ । जसरी राजा ज्ञानेन्द्रले १९ माघ आजकै दिन शासनसत्ता हातमा लिएका थिए त्यसरीनै प्रधानमन्त्री केपी शर्मा ओलीजीले गरेको संसद विघटनले द्वन्द्वतर्फ देशलाई धकेलेको छ’, उनले भने ।

photo

साथै उनले सरकारले ‘साइबर सेना’ लगाएर अभिव्यक्ति स्तन्त्रता हनन गरेको आरोप लगाए । यति मात्र होइन, उनले प्रधानमन्त्रीले विभिन्न समयमा अपराध गर्ने अपराधीलाई आफ्नो पार्टी प्रवेश गराउन लागिपरेको समेत आरोप लगाए । उनले दुई नम्बर प्रदेशमा जिल्ला अदालतले दोषी ठहर गरेका विभिन्न व्यक्तिलाई ओलीले पार्टी प्रवेश गराएको बताए । सरकारको पछिल्लो गतिविधिले सरकार कमजोर धरातलबाट हिँडिरहेको प्रतिबिम्बित गरेको उनको भनाइ छ । उनले पूर्वसूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटालाई संकेत गर्दै भ्रष्टाचारमा लिप्त भएका मन्त्रीलाई उन्मूक्ति दिलाउन सरकार हदैसम लागेको बताए । संविधानमा नै नभएको कुरा प्रयोग गरेर प्रधानमन्त्रीले संसद विघटन गरेको उनको आरोप छ ।

‘उहाँले संविधानमा नै नभएको कुरा प्रयोग गरेर संसद विघटन गरिदिनुभयो । उहाँ मसँग ६४ प्रतिशत सांसद छ भन्दै हुनुहुन्छ । तर, यो संविधानले ६४ प्रतिशत सांसदलाई संसद विघटन गर्ने अधिकार दिएकै छैन’, उनले भने । उनले कांग्रेस अलमलमा छ कि भनेर जनमानसमा आशंका रहेको भन्दै कांग्रेस प्रधानमन्त्रीको ‘कू’ विरुद्ध सँधै लागिरहने विचार व्यक्त गरे । साथै उनले नेपाली कांग्रेसले यो कदमलाई बारम्बार सच्याउन भन्दै आएको बताए । संसद विघटन गरेर प्रधानमन्त्रीले गरेको ‘कू’लाई सच्याउने एक मात्र बाटो संसद पुनःस्थापना भएको उनको भनाइ छ ।  विरोध सभा तरुण दल सुनसरीका सभापति सिजन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । 

145382156_1423230151346904_3722408564438482444_o