ताप्लेजुङः हिमपात र चिसो बढेका कारण ताप्लेजुुङको हिमाली क्षेत्रका बासिन्दाले गाउँ छाड्न थालेका छन् । फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा हिमपात सुरु भएपछि गाउँका १२ परिवारले जाडो छल्न गाउँ छाडेका हुन् ।

हिउँ पर्न थालेपछि यहाँका सात परिवार हिउँ र जाडो छल्न काठमाडौँ पुगेका छन् । चार परिवार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा कोठा लिए बस्दै आएका छन् भने एक परिवार इलामको पशुपति बजार पुगेको छ । घुन्सा गाउँमा २८ परिवार स्थायीरूपमा बासोबास गर्दै आएको स्थानीयबासी पेमा शेर्पाले बताइन् । अब १६ परिवार मात्र घुन्सामा छन् । घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजङ्गा हिमालको प्रवेशद्वारमा पर्ने एक पर्यटकीय बस्ती हो । घुन्सा गाउँमा हिमाली शेर्पा समुदायको बसोबास छ ।

यो गाउँ समुद्र सतहदेखि ३ हजार ५ सय मिटर उचाइमा पर्छ । प्रत्येक वर्षको पुस, माघ र फागुन तीन महिना गाउँलाई नै हिउँले छोप्ने गर्दछ । हिउँ सिसाजस्तै कडा बरफ बनेर जमिरहन्छ । पग्लिन एक महिनासम्म लाग्न सक्छ । तीन महिना हिउँ र चिसोका कारण निकै कष्टकर समय बिताउनुपर्ने भएकाले हिउँ र जाडो छल्न प्रत्येक वर्ष घुन्सा छाड्ने गरिएको शेर्पाले बताइन् । यहाँको मुख्य व्यवसाय पर्यटनसँग निर्भर रहेको छ ।  यस वर्ष कोरोनाका कारण कञ्चनजङगामा पर्यटक आउन सकेनन् । पर्यटक नआएपछि आर्थिक स्रोत जुटाउन नसकेको टासी तेन्जी शेर्पाले बताए ।

आर्थिक अभाव र केही चौँरी याक गोठ भएकाले यस वर्ष हिउँ र जाडो छल्न १६ परिवार जान नसकेको शेर्पाले बताए । बाह्र परिवारले संरक्षण ऋण तथा बचत सहकारीमा जम्मा गरेको बचत फिर्ता लिएर हिउँ र जाडो छल्न गएको उनले जानकारी दिए । गत महिना संरक्षण ऋण तथा बचत सहकारीबाट घुन्सा गाउँका सहकारी सदस्यहरूले ११ लाख रुपैयाँ बचत फिर्ता लिएको सहकारीका वित्तीय सहजकर्ता अभिषेक केदेमले जानकारी दिए । -रासस