इटहरीः तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत इटहरी उपमहानगरपालिकाको समन्वयमा इटहरीमा ९ वटा घर निर्माण भएका छन् ।

तराई मधेस समृद्धि कार्यक्रमको ९० प्रतिशत र इटहरी उपमहानरपालिकाको १० प्रतिशत लगानी रहनेगरी घर निर्माण भएका हुन् । इटहरी उपमहानगरपालिकाको १६ र १७ नम्बर वडामा सडक किनारमा बस्ने अतिविपन्न मुसहर परिवारलाई यी घरहरुमा राखिने उपमहानरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । ५० वटा घर बनाउने उपमहानगरको लक्ष्य रहेको सुनाउँदै गौतमले हाल ९ वटा घरसँगै चिल्ड्रेन पार्क, सडक र सामुदायिक भवन निमाण गरिएको जानकारी दिइन् । उनले हाल इटहरीमा मुख्य तथा ग्रामीण सडकहरु विस्तारको काम भइरहेकाले ती सडक विस्तारबाट विस्थापनमा पर्नेहरुलाई पहिलो प्राथमिकतामा राखिने जानकारी दिइन् ।

साथै उनले आफ्नै घर नभएका अति विपन्न परिवारलाई पनि यहाँ घर बनाइदिने बताइन् । उपमहानगरले बनाएका यी सबै घर भूकम्पप्रतिरोधी रहेका छन् । हाल घरको निमार्ण सम्पन्न भए पनि भान्सा कोठा बनाउन बाँकी छ । त्योसँगै चिल्ड्रेन पार्कको काम र सबै घरमा सोलार जडान गर्ने काम पनि बाँकी रहेको छ । यहाँ ५० विपन्न तथा घरबारविहिनहरुलाई घर बनाइदिने उपमहानगरको लक्ष्य रहेको छ । उपमहानगरले गरेको प्रारम्भिक सर्वेक्षणमा दुई सय ५० परिवारलाई घर बनाइदिनुपर्ने आवश्यकता देखिएको छ ।