मोरङः काठमाडौंमा आयोजना हुन लागेको ‘राष्ट्रिय महिला लिग’ फुटबल प्रतियोगिताका लागि विराटनगरको टोलीलाई बिदाइ गरिएको छ । 

गत वर्षको विजेता टोली विराटनगर महानगरपालिकाका खेलाडीलाई सोमबार महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिदाइ गरे । ‘महानगरपालिकाले दक्ष र व्यवसायी खेलाडी बनाउन विशेष योजना बनाएको छ,’ खेलाडीलाई बिदाइ गर्दै प्रमुख पराजुलीले भने, ‘गत वर्षको जस्तै खेलाडीले मेहनत गरे यस पटक पनि जित निकाल्न सक्ने छन् । तपाईंहरूले मैदानमा जुन परिश्रम र लगाव गरिरहनु भएको त्यसले पक्कै पनि सफलता दिलाउनेमा विश्वास्त छौं ।’
‘यस पटक पनि लिग विजेता भए महानगरपालिकाले खेलाडी नगदसहित विशेष सम्मान गर्ने योजना बनाएका छौं,’ प्रमुख पराजुलीले भने, ‘खेल र खेलाडीको विकासका लागि महानगर सधैं तत्पर रहेको छ ।’
प्रतियोगितामा भाग लिन विराटनगर महानगरका तर्फबाट २५ खेलाडी रहेका छन् । ४ जना भारतीय खेलाडीसहित मैदान उत्रन लागेको हो । टोलीकी कप्तान कल्पना कार्कीले भनिन्, ‘जित हासिल गर्न हामी तयार छौं । यस पटक पनि हामी जित्ने कुरामा विश्वस्त छौं ।’
माघ ७ गतेदेखि सुरु हुने प्रतियोगितामा ३ विभागीय टोलीसहित ७ वटा टिमको सहभागिता रहेको छ । नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, त्रिभुवन क्लब, विराटनगर महानगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका, स्याङजाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाको सहभागिता रहेको छ ।