विराटनगरः सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय मोरङ आवश्यक तयारीमा जुटेको छ ।
यसका लागि कार्यालयले जिल्ला मतदान तथा मतदान निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बैठक सम्पन्न गरी मतदानका निम्ति सूची र मापदण्ड मोरङका १७ वटै स्थानीय तह र जिल्लास्थित राजनीतिक दललाई आवश्यक सुझावका लागि पठाइसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेशकुमार ठाकुरले बताए । उनले स्थानीय तह तथा राजनीतिक दलबाट सो सम्बन्धमा आउने सुझावलाई ग्रहण गरी सोहीअनुसार काम गर्दा निर्वाचन सहज हुने धारणा राखे ।
राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिहरुबाट आउने सुझावलाई परिमार्जन गरेर मतदान केन्द्र र मतदानस्थलको निर्धारण गर्दा निर्वाचनप्रतिको विश्वास बढ्ने, निर्वाचन निष्पक्ष, धाँधलीरहित र स्वतन्त्ररूपमा सम्पन्न हुने निर्वाचन कार्यालयको ठहर छ । विसं २०७४ को संसदीय निर्वाचनमा मोरङमा छ लाख ४४ हजार सात सय ८३ मतदाता थिए भने अहिले छ लाख ७२ हजार चार सय मतदाता रहेको प्रमुख ठाकुरले बताए । उनका अनुसार आगामी निर्वाचनमा तीन सय मतदान केन्द्र र सात सय ८४ मतदानस्थल कायम हुन सक्ने अनुमान गरिएको छ ।
गएको संसदीय निर्वाचनमा मोरङमा तीन सय मतदान केन्द्र र सात सय ५८ मतदानस्थल कायम गरिएको थियो । तथापि राजनीतिक दल, स्थानीय तह र सुरक्षा निकायको सुझाव आउन बाँकी नै रहेकाले यसमा परिवर्तन हुन सक्ने प्रमुख ठाकुरको भनाइ छ । विस २०७७ पुस ५ गतेभित्र १८ वर्ष उमेर पुगेका फोटोसहित मतदाता नामावलीमा नाम समावेश भइसकेका मतदाताले आगामी निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था रहेको बताइएको छ । -रासस