इटहरीः लामो प्रतिक्षापछि अन्ततः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको लगन जुरेको छ । विभिन्न बहानामा विवाह टार्दै आएका मुख्यमन्त्री राई यही माघ ११ विवाह बन्धनमा बाँधिदै छन् । मुख्यमन्त्री राई ५० वर्षको उमेरमा बल्ल विवाह गर्न लागेका हुन् । उनले संखुवासभा स्थायी घर भई हाल काठमांडौ बस्ने ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्न लागेको बुझिएको छ । उनीनिकट स्रोतका अनुसार राईसँग विवाह गर्न लागेकी ज्याङमुको परिवार भने हाल अमेरिकामा बस्दै आएका छन् ।

sherdhan-in

 

ज्याङ्मु सन् २०१८ मा आयोजित सौन्दर्य प्रतियोगिता मिस मंगोलकी विजेतासमेत हुन् । ११ गते काठमांडौमा विवाह समारोह सम्पन्न गरेलगत्तै मुख्यमन्त्री राईले विराटनगरमा प्रिति भोजको आयोजना गर्ने भएका छन् । पटक पटक आफ्नो विवाहको विषयलाई लिएर चर्चामा आउने गरेका राईले यसअघि प्रदेशको राजधानी र नाम टुङ्गो लगाएर मात्र विवाह गर्ने उद्घोष गरेका थिए । तर, विविध राजनीतिक उथलपुथलका कारण प्रदेशको नामकरणको विषय पछाडि धकेलिएपछि मुख्यमन्त्री राईले नामकरणअगावै विवाह गर्न लागेका हुन् । उनको माघ ११ गते धुमधामका साथ विवाह हुन लागेको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले पुष्टि गरेका छन् ।

प्रिति भोजमा प्रदेश १ का राजनीतिकर्र्मी, उद्योगी, व्यवसायी, सामाजिक अभियन्ता, संचारकर्मी लगायतको सहभागिता हुने सुवेदीले बताए । २७ वर्षको उमेरमा २०६५ सालमा भोजपुरबाट सांसद पदमा निर्वाचित भएका शेरधन राई २० वर्षको अवधिमा तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री बन्न सफल भएका छन् ।