प्रकाशपुरः सुनसरीको ग्रामीण क्षेत्र प्रकाशपुर र भोक्राहालाई कार्यक्षेत्र बनाएर सञ्चालित रामधुनी बचत तथा ऋण सहकारी संस्थाले आधा करोड रुपैयाँ खुद नाफा गरेको छ ।

साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष महेन्द्रबहादुर खत्रीले ५० लाख ३३ हजार ८ सय ३३ रुपैयाँ गत आर्थिक वर्षमा संस्थाले नाफा गरेको जनाए ।

२०५५ सालदेखि ग्रामीण भेगमा बचत तथा ऋणको कारोबार गर्दै आएको खत्रीले बताए । ‘सप्तकोशी नदीको त्रासले ठूला वित्तीय संस्थाले उपेक्षा गरेकाले ग्रामीण क्षेत्रका किसान तथा व्यवसायीलाई संस्थाले बचत गर्न सिकायो’, खत्रीले भने, ‘आगामी दिनमा पनि सेयर सदस्यको हित हुने गरी स्थानीय पूँजीको स्थानीय स्तरमै स्वरोजगारको कार्यक्रमसमेत सञ्चालन गर्छौँ ।’

साधारणसभा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश १ का पर्यटनमन्त्री जगदीश कुसियतले स्थानीय पूँजी परिचालनमा रामधुनी साकोसले खेलेको भूमिका उल्लेखनीय रहेको बताए । अब पर्यटनको क्षेत्रमा पनि सहकारीले लगानी गर्नुपर्ने उनले बताए । कोशी टप्पु र कोशी नदीबाट राम्रो लाभ लिन सकिने कुसियतले बताए ।

कार्यक्रममा असल ऋणी, उत्कृष्ट बचतकर्ता, नियमित बचतकर्ता, अधिक बचतकर्तालगायतलाई सम्मान गरिएको थियो । गत वर्षको एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका सन्तानलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

३ हजार ४ सय ८७ जना सेयर सदस्यको २ करोड ९८ लाख ५६ हजार रुपैयाँ सेयर पूँजी रहेको सहकारीले गत आर्थिक वर्षमा २० करोड ६६ लाख भन्दा बढी निक्षेप सङ्कलन गरेको जनाएको छ । संस्थाले २५ करोड ३१ लाखभन्दा बढी ऋण लगानी गरेको संस्थाका व्यवस्थापक शालिग्राम निरौलाले बताए ।