इटहरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना संघीयताको मुटु भएको बताएका छन् ।
केन्द्र र स्थानीय तहको प्रयोग लामो समयदेखि भएपनि प्रदेश संरचना नयाँ भएको उनले बताए । आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रालय पुगेका मुख्यमन्त्री राईले प्रदेश १ को आर्थिक अवस्थाबारे जानकारी लिएपछि संघीयताको मुटु प्रदेश भएजस्तै प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको बताए । प्रदेश सरकारको मुटु पहिलो वर्ष राम्रै चलेपनि दोश्रो वर्षको अन्त्यदेखि समस्या देखिँदै गएको आफूले पाएको उनले बताए । मुख्यमन्त्री राईले भने,‘चालु आर्थिक बर्षको बजेट प्रस्तुत भएर पारित भइसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो ।’ ‘प्रदेशको बजेट दुर्घटनाबाट अघि बढेको रहेछ ।’ उनले भने । समस्या पहिचान भएकाले उपचारको प्रकृया सुरु भइसकेको मुख्यमन्त्री राईको भनाइ छ ।
उनले भने,‘ मन्त्रालयका सचिवले चिकित्सकको भूमिका निर्वाह गरिरहनुभएको छ ।’ मुटुको सफल उपचारपछि सरकारलाई गतिशील बनाउने उनले बताए । क्रोनिक एकै पटक देखा नपरेको मुख्यमन्त्री राईले बताए । आर्थिक मामिला मन्त्रालय कस्का कारण यो अवस्थामा आइपुग्यो भन्ने सबै रिपोर्टिङ आफूले पाएको उनले बताए । प्रदेश सरकारले सहि र यथार्र्थपरक बजेट बनाउन नसकेको र वित्तीय अनुशासन कायम नभएकोबारे विभागीय मन्त्रीलाई पटक–पटक सचेत गराएको उनले बताए । उनले मन्त्रालयमा देखिएको बेथितिलाई पूर्ण रुपमा निर्मुल गर्न निर्देशन दिएका छन् । प्रणालीको विकास हुन नसक्दा मुलुकको दीगो र व्यवस्थित विकास हुन नसकेको उनले बताए । प्रदेशमा प्रणालीको विकास गरी अनुसन्धानमा आधारित विकास कार्य अघि बढाइने उनले बताए । वित्तीय अनुशासन कायम राख्न मन्त्रालयका कर्मचारीलाई उनले निर्देशन दिए । मुख्यमन्त्री राईले भने,‘ गल्ति कमजोरी कहिँकतैबाट हुन दिनुभएन ।’
पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्यौलता देखिएपनि अन्यौलतामा नपरी काम गर्न कर्मचारीहरुलाई उनले आग्रह गरे । मुख्यमन्त्री राईले भने,‘प्रदेशमा जसरी घटनाक्रम अघि बढेको छ, यसको भ्रममा नपर्नुहोला ।’ आगामी माघ ७ गतेको प्रदेशसभापछि अन्यौलता हट्ने उनले विश्वास व्यक्त गरे । सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने अवस्था नभएको उनले बताए । आफू नेतृत्वको सरकार अघि बढ्ने बताउँदै उनले भने,‘ कोही, कतै र कसैबाट पनि प्रभावित नहुनुहोला ।’ उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई उनको आग्रह छ । आर्थिक मन्त्रालयको नेतृत्व अब ठिक ढंगबाट हुने उनले बताए ।