इटहरीः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) ले बुधबार ७७ वटै जिल्लामा विशेष कार्यकर्ता भेला गरेको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट अनेरास्ववियुले प्रधानमन्त्रीले गरेको संसद विघटन जनपक्षीय र राष्ट्रिय हितको लागि भएको भन्दै भेलाको आयोजना गरेको हो । अनेरास्ववियु सुनसरीले इटहरी उपमहानगपालिका वडा नम्बर ५ मा रहेको लायन्स भवनमा विशेष कार्यकर्ता भेला गरेको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा भेला भएको हो । अनेरास्ववियुको केन्द्रीय कमिटिकै बैठकबाट ७७ वटै जिल्लामा कार्यक्रम गर्ने निणर्य गरेकाले सुनसरीमा पनि कार्यक्रम गरिएको अनेरास्ववियु सुनसरीका संयोजक जिवि गजलले जानकारी दिए ।

प्रधानमन्त्रीले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि ताजा जनादेशमा जान गरेको निर्णयलाई स्वागत गर्दै कार्यक्रम गरिएको उनले बताए । सोही कार्यक्रममा बोल्दै मन्त्री कार्कीले नेकपा किन फुटेको हो भन्ने विषयमा जनतालाई सहि कुरा बुझाउन आवश्यक रहेको बताए । उनले नेकपामा भएको विवाद र पार्टी विभाजनको विषयमा विद्यार्थी नेताहरुले आम सर्वसाधारणलाई बुझाउनुपर्ने जानकारी दिए । साथै उनले युवा विद्यार्थीहरुमा जोस र जाँगर हुने भएकाले त्यसलाई सहि ठाउँमा प्रयोग गर्न पनि अनुरोध गरे ।