इटहरीः प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा ९० दिनमा टुक्रिएर दुई वटा पार्टीमा विभाजित हुने बताएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सुनसरीले इटहरीमा आयोजना गरेको विशेष कार्यकर्ता भेलामा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले प्रचण्डले माधव कुमार नेपाललाई अध्यक्ष बनाउने आशा देखाएर पार्टीमा बोलाएको र केही समय मात्र पार्टीको अध्यक्ष बनाएर हाल आफौ पार्टी अध्यक्ष बनेका बताए । साथै उनले प्रचण्ड–नेपाल पक्ष फेरि दुई पक्षमा टुक्रिने संकेत देखिइसकेको बताए ।

‘प्रचण्डले माधव कमरेडलाई अध्यक्ष बनाउँछु भनेर बोलाउनुभयो । बनाउनु पनि भयो । तर, अहिले क.माधव उपाध्यक्षमा पुगिसक्नुभयो । यो कुरा पौष १५ गते ल्होसारको अवसरमा प्रचण्डको एकल हस्ताक्षरमा निस्किएको विज्ञप्तिले देखाइसकेको छ । यति मात्र होइन, केही समय अगाडि चीनबाट आएका कम्युनिष्ट नेताहरुलाई भेट्ने सन्दर्भमै पनि प्रचण्डको माधव नेपालसँग कुरा मिलेन । प्रचण्डले म पार्टीको अध्यक्ष हो म एक्लै भेट्छु भनेर चीनीयाँ टोलिसँग भेट्नुभयो । क.माधवले होटलमा त्यो टोलिसँग भेटवार्ता गर्नुभयो’, उनले भने । मन्त्री कार्कीले प्रचण्ड आरिसे स्वाभावको भएकाले नै कुनै पार्टीसँग एकता भएको लामो समयसम्म मिलेर बस्न नसकेको टिप्पाणी गरे ।