इटहरीः नेकपा प्रचण्ड–नेपाल समुहले सुनसरीको इटहरीमा छुट्टै विस्तार भेलाको आयोजना गरेको छ ।

मंगलबार प्रचण्ड–नेपाल समुहले उपमहानगर स्तरीय नगर विस्तार भेला गरेको हो । भेलामा बोल्दै नेकपा इटहरीका अध्यक्ष बहादुरसिंह तामाङ (ज्वाला)ले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चालेको कदम संविधानविपरीत भएको आरोप लगाएका छन् । ज्वालाले प्रधानमन्त्रीको यो कदमले संविधानमाथि नै बलात्कार गरेको आरोप लगाएका छन् । उनले संविधानको मुल मर्म र भावनालाई नै प्रधानमन्त्रीको यो कदमले मारेको आरोप लागएका छन् । उनले प्रधानमन्त्रीको सोही कदमविरुद्ध आन्दोलनलाई एकाकार गर्न नगरस्तरीय विस्तार बैठक आयोजना गरिएको जानकारी दिए । उनले प्रधानमन्त्रीको यो कदमले जनताको अधिकार खोसिएको र त्यो फिर्ता नहुन्जेल विरोध तथा आन्दोलन गर्ने जानकारी दिए ।

नेकपा इटहरी नगर कमिटिका सचिवालय सदस्य रितेश श्रेष्ठले प्रधानमन्त्रीले चालेको यो कदम निरङ्कुश भएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीले आफ्नो अधिकारमै नभएको कुरा प्रयोग गरेको बताएका छन् । प्रधानमन्त्रीको यो कदमले प्रचण्ड–नेपाल पक्षका नेता तथा कार्यकर्ता रुष्ट भएको उनले जानकारी दिए । साथै उनले देशव्यापी रुपमा प्रधानमन्त्रीको यो कदम विरुद्ध आन्दोलन र विरोधका कार्यक्रम गर्ने जानकारी दिए । नेकपा नेता हेमसागर तिम्सिनाले प्रधानमन्त्रीको यो कदम संविधानको हिसाबले असंवैधानिक, जनताको हिसाबले जनघाती र क्रान्तिका हिसाबले गैरक्रान्तिकारी भएको बताएका छन् ।

त्यसैले प्रधानमन्त्रीले चालेको यो कदम अनुचित भएको उनको भनाइ छ । यसले लामो समयदेखि नेपाली जनताले देखेको सपनालाई निराशामा परिणत गरेको उनले आरोप लगाएका छन् । मंगलबार इटहरीमा रहेको दुर्गा पाटी प्यालेसमा आयोजना भएको विस्तार भेलामा बोल्ने अधिकांश नेकपा नेताहरुले प्रधानमन्त्रीको यो कदमलाई जनघाती भएको बताएका छन् । यो भेलाले आगामि दिनमा प्रधानमन्त्रीको कदमप्रति गरिने विरोध र आन्दोलनका कार्यक्रमलाई एकाकार गरिने नेकपाले जानकारी दिएको छ ।