इटहरीः प्रधानमन्त्री के पि शर्मा ओलीले संसद विघटन गरेयता संघीयताको खारेजीको मागसमेत तिव्र रुपमा उठ्न थालेको छ ।
यही सन्दर्भमा राजसंस्था र हिन्दु राज्यको माग राख्दै सुनसरीको इटहरीमा भोलि वृहत्त कार तथा मोटरसाइकल र्यालीको आयोजना हुने भएको छ । पूर्वाञ्चलवासी नेपाली जनताको नाममा आयोजना गर्न लागेको कार र्याली भव्य हुने आयोजकले जानकारी दिएको हो । इटहरीदेखि विराटनगरसम्म आयोजना गरिने छ । कार तथा मोटरसाइकल र्यालीका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट रामु पोखरेलले राजसंस्था र सनातन धर्म सहितको हिन्दु अधिराज्यका लागि राजनैतिक दलभन्दा माथि उठेर सहभागी हुन सबैलाई आग्रह गरे । मुलुक संकटमा रहेको अवस्थामा दल भन्दा माथि उठेर राजसंस्था सहित हिन्दु राज्य कायम गर्दै संघीयताको खारेजीका लागि दबाव दिन र्यालीको आयोजना गरिन लागेको पोखरेलले जानकारी दिए ।
पत्रकार सम्मेलनमा पत्रकारहरुको जवाफ दिँदै पोखरेलले संघीयता नेपालका लागि उपयुक्त नभएको संसद विघटनले समेत पुष्टि गरिसकेको बताउँदै विदेशीहरुको इसारामा केही नेताहरुका बलमा जबरजस्ती राजसंस्था , सनातन हिन्दु राज्य खारेज गरेर गणतन्त्र स्थापना गरिएपनि गणतन्त्र छोटो समयमै असफल भइसकेको दाबी गरे । र्याली ऐतिहासिक हुने आयोजक सुरज कँडेलको दाबी छ । रामु पोखरेल , सुरज कँडेल र युगप्रिय निरौलाले पत्रकारहरुको प्रश्नको जवाफ दिएका थिए । पत्रकार सम्मेलनमा दीपेन्द्र कार्की, आकाश सुब्बा, रमा बास्तोला, युगप्रिय निरौला, गीता नेम्वाङ, दुर्गा लामा लगायतको सहभागिता रहेको थियो ।