इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीमा नागरिकता र राहदानी लिनेको भीड बढेको छ ।

कोरोना महामारीका कारण लामो समयसम्म कार्यालयको काम ठप्प भएकाले सेवा लिनेको घुइँचो बढेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना महामारीको समयामा दैनिक ३०÷४० जनालाई नागरिकता वितरण गर्दै आएको थियो । तर, अहिले त्यो संख्या बढेर १५० मा पुगेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्दमणि पोखरेलले कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै पौषको पहिलो साता बिहान ७ बजेदेखि नै सेवा प्रवाह गरिएको जानकारी दिए ।

उनका अनुसार लकडाउनको समयमा कार्यालयले सुनसरीका पालिकाहरुलाई एक दिनमा एउटा पालिका र अर्को दिनमा अर्को पालिकालाई समय छुट्याएको थियो । ‘कोरोना महामारीको बेला हामीले एक दिनमा ४० वटा मात्र नागरिकता वितरण गरेका थियौँ । त्यो पनि एक दिन एक पालिका र अर्को दिन अर्को पालिकालाई गरेर । अहिले कोरोना महामारी कम भएको छ । हामी दैनिका १५० जनालाई नागरिकता वितरण गरिरहेका छौँ । पौषको पहिलो साता त हामीले बिहान ७ बजेदेखि नै सेवा दिएका थियौँ । त्यो बेला सेवाग्राहीहरु बिहान ३÷४ बजेदेखि नै आउनुहुन्थ्यो त्यही भएर हामीले एक सातासम्म बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सेवा दिएका थियौँ’, उनले भने ।

अहिले कार्यालयमा सेवाग्राहीको चाप बढी भएकोले १० बजेदेखि मात्र सेवा दिन थालिएको पोखरेलको भनाइ छ । सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशकुमार पोख्रेलले कोरोना महामारी केही कम भएको समयमा नागरिकता बनाउनेहरुको भीड कार्यालयमा एक्कासी बढेको जानकारी दिए । उनले कार्यालयले साविकको समयमा सेवा दिँदा टाढाबाट आउनेलाई समस्या हुने भएकाले बिहान ७ बजेदेखि दुई सातासम्म सेवा दिएको जानकारी दिए । ‘कोरोना महामारी केही कम हुँदा जिल्ला प्रशासन कार्यालयमा अरु फाँटमा भन्दा पनि नागरिकता बनाउने फाँटमा सेवाग्राहीको चाप बढ्यो । उहाँहरु बिहानदेखि नै आउनुहुन्थ्यो । त्यसैले हामीले एक साता बिहानदेखि नै सेवा प्रवाह गरेका थियौँ । अहिले अवस्था सहज छ । तैपनि कोरोना महामारीको समय र त्योभन्दा अगाडिको समयमा भन्दा अहिले चाप बढी छ’, उनले भने ।

CDO Sunsari

उनले दैनिक एक सय जनालाई मात्र कार्यालयले सेवा दिने भएकाले दुई साता दैनिक दुई सय जनाभन्दा बढी आएकाले सेवा समय बढाएको जानकारी दिए । सुनसरीको मधेसा घर भएका हरिशरण कोइरालाले कोरोना महामारीपछि भीड बढेको अनुभव भएको सुनाएका छन् । उनले श्रीमतीको नागरिकता किराले खाएर बिग्रिएको र सोही बनाउन तीन दिनदेखि जिल्ला प्रशासन कार्यालय धाएको जानकारी दिए । उनले भिडभाडका कारण १० मिनेटमा हुने कामको लागि डेढदेखि दुई घण्टासम्म कुर्नुपरेको जानकारी दिए । ‘म मधेसाबाट श्रीमतीको नागरिकता किराले खाएर अर्को बनाउन आएको हुँ । अस्तिदेखि नै म यहाँ आएको । आज तीन दिन भयो । अझै पनि काम भएको छैन । लकडाउनमा काम नभएर होला अहिले यहाँ धेरै भीड छ । मेरो १० मिनेटमै हुने कामको लागि दुई घण्टा समय लागिसक्यो अझै भएको छैन’, उनले भने ।

उनीजस्दै जिल्ला प्रशासन कार्यालयमा आउने प्रायः सबैले भीड बढेका कारण सेवा लिन अप्ठ्यारो परेका गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयले वैशाखदेखि मंसिरसम्म मात्र ३६ सय ३ जनालाई नयाँ नागरिकता वितरण गरेको छ । कार्यालयका अनुसार नयाँ नागरिकता लिनेमा २ हजार ९० जना महिला र १५ सय १३ जना पुरुष रहेका छन् । यस्तै यो वर्ष एक सय ७ वटा विवाह दर्ता भएको कार्यालयले जनाएको छ । गत साउनदेखि (यो आर्थिक वर्ष) पौष १५ गते सम्म १८ सय ४९ जनाले जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिएको कार्यालयको अभिलेखमा उल्लेख छ । साउनमा २४ महिला र २५ पुरुष, भदौमा २२ महिला र ४२ पुरुष, असोजमा ११२ महिला र २८७ पुरुष, कात्तिकमा ५२ महिला र २०७ पुरुष, मंसिरमा ११९ महिला र ४९७ पुरुष र पौषमा ८२ महिला र ३८२ पुरुषले राहदानी लिएको कार्यालयले जनाएको छ ।