इटहरीः नेपाली कांग्रेसका सह–महामन्त्री सुनिलबहादुरु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते संसद विघटन गर्नु आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

हिजो शुक्रबार प्रेस युनियन सुनसरीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन् । उनले प्रधानमन्त्रले संसद विघटन गरेपनि पदबाट राजीनामा नदिनु गलत भएको बताएका छन् । प्रधानमन्त्रीको यो कदमले आगामी दिनमा के हुन्छ भनेर सबैलाई अन्योलमा पारेको उनको भनाइ छ । उनले नेपाली कांगे्रस नेकपा सरकारको कामबाट आक्रान्त बनेको र विभिन्न विरोधको कार्यक्रम गर्न सुरु गरेको जानकारी दिए ।

संवैधानिक व्यवस्थालाई नै बलात्कार गर्नेगरी नेकपा सरकारले गरेको कामलाई कांग्रसले विरोध गरेको उनले जानकारी दिए । साथै थापाले नेपाली कांग्रेस लोकतन्त्रको पक्षधर भएकाले चुनावमा जान अलिकति पनि नडराउने जानकारी दिए । उनका अनुसार कांग्रेसका विषयमा समाचारमा आएका विषयहरु कति जायज छन् भन्ने पौष १९ गते बस्ने पार्टीको बैठकबाट थाहा हुनेछ ।