गछियाः मोरङको सुन्दरहरैंचा–७ मा रहेको गछिया बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा उल्लेख्य रूपमा नाफा बढाएको छ । संस्थाको १३ औं वार्षिक साधारण सभामा जनाइएअनुसार गत आर्थिक वर्षमा संस्थाले ५२ लाख ८८ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाले २० लाख ८ हजार रुपैयाँमात्रै नाफा गरेको संस्थाले जनाएको छ ।

संस्थाको साधारण सभाको अवसरमा १० जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । संस्थाले सेयर सदस्यका परिवारभित्रका ८० देखि ९४ वर्षका १० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संस्थाका सल्लाहकार पीताम्बर दाहाललगायतका अतिथिले सम्मान गरेका थिए ।

कार्यक्रममा असल ऋणी, उत्कृष्ट बचतकर्ता, नियमित बचतकर्ता, अधिक बचतकर्तालगायतलाई सम्मान गरिएको थियो । गत वर्षको एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका सन्तानलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

१ हजार ३ सय ८६ जना सेयर सदस्यको २ करोड ७ लाख रुपैयाँ सेयर पूँजी रहेको सहकारीले गत आर्थिक वर्षमा ९ करोड ४७ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको थियो । संस्थाले १० करोड ९१ लाख रुपैयाँ ऋण लगानी गरेको संस्थाका अध्यक्ष अर्जुनराज अधिकारीले बताए ।

कार्यक्रममा संस्थाको नीति तथा कार्यक्रम सचिव कृष्णप्रसाद भुर्तेलले प्रस्तुत गरेका थिए । उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक लुबराज आचार्यले र लेखा परीक्षकको प्रतिवेदन सञ्चालक हरिप्रसाद घिमिरेले प्रस्तुत गरेका थिए ।

gachhiya sahakari  (1)