इटहरीः मोरङको बेलबारी नगरपालिकाले पूर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार स्वच्छ सफा नगर निर्माणका निम्ति आफ्नो नगर क्षेत्रभित्रका वडा टोलभित्रका घरहरुलाई सरसफाइको आधारमा वर्गीकरण गर्ने कामलाई तिव्रता दिएको छ ।

बिहीबार एक कार्यक्रमका बीच पूर्ण सरसफाइयुक्त बस्ती घोषणा गर्दै बेलबारी ११ को संगम टोलका घरघरमा नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले हरियो स्टिकर टाँसेर कार्यक्रम उद्घाटन गरिन् । नगरपालिकाले पहिलो चरणमा वडा नं ११,वडा नं ८ र वडा नं १० का विभिन्न टोललाई नमुना बस्तीका रुपमा विकास गर्ने काम सुरु गरेको थियो । आधारभूत सरसफाइका सम्पूर्ण मापदण्ड पूरा गरेका घरहरुको अनुगमन गरी हरियो स्टिकर वितरण गरेको नगरपालिकाकी उपमेयर एवम् अनुगमन समिति संयोजक ढाकाकुमारी पराजुलीले बताइन् । सफा स्वच्छ क्षेत्रको प्रतिक हरियो स्टिकर टाँस्दै बेलबारी नगरपालिकामा प्रमाणीकरणको थालनी गरिएको छ ।

सरसफाइका ६ ओटा सुचकको आधारमा घर आँगन र परिवारको स्वास्थ्य–व्यवहार हेरेर गाउँस्तरीय पालिकास्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समितिको सिफारिसमा जिल्ला खानेपानी तथा सरसफाइ समन्वय समितिले हरियो स्टिकर दिने गर्छ । जुन घरका सदस्य चर्पीमा दिसापिसाब गर्छन्, फर्केर साबुनपानीले हात धुन्छन्, त्यसले हरियो स्टिकर पाउँछ । हरियो स्टिकर पाउन घर र आँगनसमेत सफा हुनुपर्छ, अनि खाना र पानी पनि अनियमित र दूषित हुनुहुन्न । यी लगायतका सूचकका आधारमा घरमा हरियो स्टिकर टाँसिएको छ । सरसफाइका सूचकहरुलाई ६ खण्डमा वर्गीकरण गरी तिनका प्रत्येक उपसूचकहरुलाई समेत अंकभार दिइएको छ, जसका आधारमा सम्बन्धित टोल विकास संस्था वा टोल पूर्ण सरसफाइ व्यवस्थापन समितिले स्वअनुगमन गरी अनुगमन तालिकामा अंक दिंदै जानुपर्ने प्रावधान छ ।

प्रत्येक अनुगमनका क्रममा अंक दिंदै जाँदा तीन पटकको अनुगमनमा सतप्रतिशत अंक प्राप्त गर्ने घरधुरीले हरियो स्टिकर प्राप्त गर्ने प्रावधान छ । ‘सफा र स्वच्छ वातावरणमा बाँच्न पाउनुलाई नेपालको संविधानले व्यक्तिको मौलिक हकको रुपमा स्थापित गरेको छ । पाँच वर्षभित्र जिल्लालाई नै सफा र स्वच्छ क्षेत्रको अवस्थामा पुर्याउने जिल्लाको लक्ष्य कठिन र महत्वाकांक्षी जस्तो देखिए पनि सबै स्थानीय तह, वडा, टोल र घरधुरीले अभियान सञ्चालन गरेर यसलाई सफल पार्नुपर्छ । सरसफाइसँगै आत्मनिर्भर बन्न उद्यमशीलतालाई पनि जोड दिन नगरपालिकाले सहयोगी भूमिका निर्वाह गर्छ’ कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी उपमेयर पराजुलीले भनिन् । कार्यक्रममा नारी विकास संघका प्रतिनिधिहरु शर्मिला मगर,रीता निरौला,टोल विकास संस्थाका प्रमुख र प्रतिनिधिहरुको उपस्थिति थियो । पूर्ण सरसफाइका लागि बेलबारी नगरपालिकाले युएन ह्याबिट्याट र नारी विकास संघसंग समन्वय गरी काम गरिरहेको छ ।