इटहरीः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश १ स्तरीय संसदीय दलको नेतामा भीमप्रसाद आचार्य चयन भएका छन् ।
नेकपा प्रदेश १ को संसदीय दलका उपनेता टङ्क आङ्बुहाङले मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता शेरधन राईविरुद्ध प्रचण्ड(माधव पक्षीय सदस्यहरुद्दारा संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावका आधारमा राईलाई जिम्मेवारीबाट मुक्त गर्दै उनको स्थानमा आचार्यलाई जिम्मेवारी दिएको बताए । उपनेता आङ्बुहाङका अनुसार राईलाई पदमुक्त गरी हिजो बसेको संसदीय दलको बैठकले आचार्यलाई जिम्मेवारी दिएकोबारे प्रदेशसभा सचिवालयलाई आज जानकारी गराइएको छ ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले पनि आचार्यलाई संसदीय दलको नेताको जिम्मेवारी दिइएको पत्र सचिवालयमा दर्ता भएको बताउँदै नियुक्तिको पुष्टि गरेका छन् । सचिव पराजुलीका अनुसार संसदीय दलले पठाएको पत्रमा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराउने ३७ जनामध्ये ३६ जनाले हस्ताक्षर गरेका छन् । यसअघि प्रदेशसभा सदस्य कला घलेसमेत प्रचण्ड(माधव पक्षमा रहेकोमा हाल उनी ओली पक्षमा पुगेकी छन् । गत पुस १२ गते प्रदेशसभा सदस्य इन्द्र आङेबोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो ।