दुहबीः जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुहबीले गत आर्थिक वर्षमा १३ करोड ५२ हजार २ सय ८ रुपैयाँ निक्षेप सङ्कलन गरेको छ ।

आज भएको १८ औं साधारण सभामा जनाइएअनुसार संस्थाले १२ करोड ७६ लाख ३९ हजार १ सय ८ रुपैयाँ ऋण लगानी गरेको छ । ८ सय ८६ महिलासहित २ हजार ६२ जना सेयर सदस्य रहेको संस्थाको १ करोड ५३ लाख, १६ हजार ३ सय रुपैयाँ सेयर पूँजी रहेको जनाइएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष मिलिराम चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्थापनाको १८ औं वर्षमा पुग्दा सहकारी संस्थागत आर्थिक र सामाजिक रूपमा पनि सशक्त र सबल रूपमा उभिएको बताए ।

संस्थाले एम्बुलेन्स सेवा, रेमिटेन्स सेवा, रक्तदान कार्यक्रममा निःशुल्क रूपमा रगत सिफारिश गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले सहकारीको सफलता निक्षेपकर्ताको आत्मनिर्भरतासँग गाँसिएको बताए । मेयर गच्छदारले सहकारीबिना आर्थिक समृद्धि नहुने भन्दै रचनात्मक र उत्पादनमुखी व्यवसायमा लगानी गर्नुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका कोषाध्यक्ष केशवप्रसाद पोखरेलले सहकारीले बेरोजगारलाई स्वरोजगारको व्यवस्था गर्नका लागि गुणस्तरीय उद्यमशीलता र प्रविधिमैत्री हुनुपर्ने सुझाव दिए । साधारणसभाको अवसर पारेर ३२ संंस्थाको नयाँ भवनको समुद्घाटन गरिएको थियो ।

कार्यक्रममा सुनसरी जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्रमुख योगराज धमला, सुनसरी जिल्ला बचत सङ्घका अध्यक्ष शिवराज श्रेष्ठ, जिल्ला बचत सङ्घका पूर्व अध्यक्ष रुद्रप्रसाद उप्रेतीलगायतका वक्ताले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सहकारी संस्थालाई विशेष योगदान पु¥याउने संस्थाका उत्कृष्ट कर्मचारीलाई प्रोत्साहन पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

असल ऋणी र असल बचतकर्ता समूहलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा सञ्चारकर्मी प्रेम गिरी लगायतलाई सम्मान गरिएको थियो ।

janakalyan sahakari (2)