इटहरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेस गर्ने प्रचण्ड(माधव नेपाल समूह पक्षीय प्रदेशसभा सदस्यहरुले भावी मुख्यमन्त्रीका रुपमा भीम आचार्यको नाम सिफारिस गरेको छ ।
अविश्वास प्रस्ताव गरिएकै निवेदनमा मुख्यमन्त्रीका रुपमा आचार्यलाई सिफारिस गरिएको व्यहोरा उल्लेख गरी संसद सचिवालयमा पेस गरिएको हो । नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा ५ बमोजिम आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्न सिफारिस गरिएको निवेदनमा उल्लेख छ ।
अविश्वास प्रस्ताव तथा मुख्यमन्त्री नियुक्तिको प्रस्तावका प्रस्तावक आर्थिक मामिला तथा योजना मन्त्रीको पदबाट हिजो हटाइएका दाहाल नेपाल पक्षीय प्रदेश सांसद इन्द्र आङ्बो रहेका छन् । आज संसद सचिवालयमा दर्ता भएको प्रस्तावउपर छलफलका लागि प्रदेश १ मन्त्रिपरिषद्को बैठकले माघ ७ गते प्रदेशसभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ ।