दुहबीः दुहबी नगरपालिका क्षेत्रमा रहेका उद्योग अव्यवस्थित ढङ्गले चल्ने गरेको पाइएको छ ।

दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल(साह) नेतृत्वको अनुगमन टोलीले गरेको उद्योग अनुगमनका क्रममा अधिकांश उद्योग अव्यवस्थित तरिकाले सञ्चालनमा रहेको पाइएको हो । दुहबी–५ स्थित पशुपति बिस्कुट उद्योगमा अन्तिम उपभोग्य मिति नलेखिएको पाम तेल प्रयोग गरेको पाइएको थियो । श्रमिकहरूले पनि पञ्जा नलगाई खुला हातले बिस्कुट प्याक गरेको पाइएको थियो ।

दुहबी–५ मै रहेको क्वालिटी बिस्कुट उद्योगका श्रमिकले पनि पञ्जा नलगाई काम गरेको पाइएको टोलीले जनाएको छ ।

दुहबी– ३ मा रहेको एशियन बिस्कुट उद्योगका श्रमिकले पनि पञ्जाको प्रयोग नगरेको फेला परेको थियो । उद्योगले उपभोग्य मिति सकिएका बिस्कुट कुखुराको दाना बनाउने उद्योगलाई दिने गरेको म्यानेजर महेश साहले बताएका थिए ।

अनुगमन टोलीले ती उद्योगलाई सचेत पत्र दिई सचेत गराएको थियो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय सुनसरीका गुणनिधि दाहाल, दुहबी नगरपालिकाका तर्फबाट प्रशासन शाखाका अधिकृत मीनराज कोइरालाका साथै टङ्क बजगाईं, श्रवण दाहाल सहभागी थिए । इलाका प्रहरी कार्यालय दुहबीका सुरक्षाकर्मी पनि टोलीमा सहभागी थिए ।

biscut udyog janugamn (2)