इटहरीः प्रदेश १ सरकारका तीन जना मन्त्रीहरुले आज मुख्यमन्त्री शेरधन राईसमक्ष सामूहिक राजीनामा दिएका छन् ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले सामूहिक रुपमा पदबाट राजीनामा दिएका हुन् । तीनैजना मन्त्रीहरुद्वारा हस्ताक्षरित राजीनामापत्रमा वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुका कारणले प्रदेश सरकारको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेकाले राजीनामा गरेको उल्लेख छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा आज अविश्वास प्रस्ताव दर्ता गराउने तयारी भएको पृष्ठभूमिमा तीन जना मन्त्रीहरुको राजीनामा आएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट रहेका मुख्यमन्त्री राईविरुद्ध पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालनिकट प्रदेश सांसदहरुले अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका हुन् ।

यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न अगुवाइ गरेको बुझेपछि राईले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई हिजो शनिबार साँझ नेपालको संविधान २०७२ को धारा १६९ को उपधारा २ को खण्ड (ख) अनुसार पदबाट बर्खास्त गरेका थिए । बर्खास्त गरिएका मन्त्री आङ्बोकै नेतृत्वमा आज दिउँसोसम्म मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएको छ । प्रदेश १ मा ओली समूह अल्पमतमा रहेको छ भने दाहाल नेपाल समूहले बहुमतको सरकार निर्माण गर्न सक्ने अवस्था छ । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएमा भने राष्ट्रपतिले प्रदेशसभा नै विघटन गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।

133531215_828813807965355_2625187298651444925_n