इटहरीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा गृहमन्त्री रामबहादुर थापा (बादल) पार्टीभित्र आन्तरिक विवाद चुलिएसँगै प्रचण्ड खेमाबाट अलग भई केपी शर्मा ओलीको खेमामा आबद्ध भएपछि प्रदेश १ मा बादललाई आफ्नै सांसदहरुले एक्लो पारेका छन् ।
प्रदेश १ को प्रदेशसभामा रहेका बादलनिकट पाँच जना सांसदहरुले प्रतिगमनलाई प्रश्रय दिएको भन्दै एकैसाथ उनको साथ छोडेका हुन् । बादलको निकटता परित्याग गर्ने प्रदेशसभा सदस्यहरुमा प्रदेशसभाकी उपसभामुख सरस्वती पोख्रेलका साथै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, प्रदेश सांसद् कुलप्रसाद साम्बा मोहन खड्का र उमिता विश्वकर्मा रहेका छन् । माधव नेपाल र प्रचण्डको संयुक्त खेमालाई साथ नदिएको भन्दै सांसदहरुले बादलको साथ छोडेका हुन् ।
केन्द्रीय राजनीतिमा बादलले प्रचण्डलाई साथ दिइरहेकोमा केही समययता उनी तटस्थ बसेका थिए । पछिल्लो पटक बादलले प्रचण्डको साथ छोडी ओलीको हात समाएपछि अन्य सदस्यहरुबाट उनी एक्लिएका हुन् । एक्लै ओलीको गुटमा समाहित भएका बादलले तीन दर्जन केन्द्रीय सदस्यहरुको समेत साथ गुमाएका छन् । उनीहरु सबै प्रचण्ड नेपाल पक्षमा सक्रिय छन् । माधव–प्रचण्ड समूहमा रहेकी प्रदेश सांसद् उमिता विश्वकर्मा बादलले प्रतिगमनलाई साथ दिएको बताएकी छन् । ‘उहाँ हाम्रो लिडर हो तर प्रतिगमनतर्फ लाग्नु भयो,’ उनले भनिन्, ‘हिजो बनाएको संविधानमा टेक्ने काम गर्नुभयो । प्रतिगमनलाई साथ दिनुभयो ।’ विश्वकर्माले बादलले ओलीको असंवैधानिक कदमलाई साथ दिएकोमा दुःख व्यक्त गरिन् ।