झापाः झापाको मेचीनगरपालिका– १३ स्थित चारआलीमा सिलगढी–चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढाइएको छ । चारआलीमा २३ बिघा क्षेत्रफलमा ४० हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारणका लागि संरचना निर्माणको काम अघि बढेको हो ।

विसं २०७३ मा नेपाल आयल निगमले खरिद गरेको जग्गामा भण्डारण गृह निर्माण प्रक्रिया शुरु भएको निगमका चारआलीका प्रमुख मनिष न्यौपानेले जानकारी दिए । उनका अनुसार उक्त भण्डारणमा १२ हजार ५० किलोलिटर पेट्रोल, २८ हजार ५० किलोलिटर डिजेल, चार सय किलोलिटर मट्टितेल र एक हजार २५० किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने गरी डिपो निर्माण हुनेछ ।
पेट्रोलियम पाइपलाइनको काम आगामी फागुनबाट शुरु हुने भएको छ । ५० किलोमिटर पाइपलाइनको काम शुरु गर्न सोमबार रुट पहिचान ९सर्भे० सकिएको छ । करिब रु १० अर्बको लागतमा तीन वर्षभित्र सम्पन्न हुने यस परियोजना दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको हो । पाइपलाइनको लागत खर्च आ–आफ्नो सीमाभित्र सम्बन्धित देशले नै व्यहोर्ने बताइएको छ ।

सर्भे अनुसार पाइपलाइन भारतको सिलगढीबाट पानीट्याङ्किको दक्षिण भेग हुँदै नेपाल–भारत सीमा मेची खोलामुनिबाट नेपाल प्रवेश हुनेछ । यसपश्चात् पूर्व–पश्चिम राजमार्गबाट हुँदै निगमको चारआली डिपोमा भण्डारण गरिने प्रमुख न्यौपानेले बताए ।

इण्डियन आयल कर्पोरेशन ९आइओसी०को सिलगढी डिपोदेखि निगमको झापा, चारआलीस्थित कार्यालयसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन विछ्याइने निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । जमिनदेखि दुई मिटरमुनि पाइपलाइन विछ्याइने छ । पाइपलाइन नेपालतर्फ १५ किलोमिटर र भारततर्फ ३५ किलोमिटर विछ्याउनुपर्ने सर्भे टोलीका इञ्जिनीयर मसिनी खड्काको भनाइ छ ।

आइओसी टोलीसँग मिलेर विस्तृत सर्भे गरिएको उनले जानकारी दिए । भण्डारण गरिएको पेट्रोलियम पदार्थले प्रदेश १ मा ९० दिनसम्म आवश्यक पर्ने मागलाई धान्ने निगमले जनाएको छ । भण्डारण गृह पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटर दक्षिणमा रहेको छ । रासस