इटहरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन् ।

प्रदेश राजधानी विराटनगरस्थित आइटिएफ तेक्वान्दो सङ्घद्वारा हिजो शुक्रबार आयोजित प्रदेशस्तरीय प्रथम तेक्वान्दो टेक्निकल समिनार कोर्सको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । खेलकुद क्षेत्रका राष्ट्रिय प्रतिभाको सम्मानका लागिसमेत प्रदेश सरकार कृयाशील रहेको उनले बताए । मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै खेलाडीको प्रदर्शनसमेत उत्कृष्ट देखिएको बताउँदै उनले खेलाडीहरुले राष्ट्रलाई विभिन्न अन्तर्राष्ट्रिय पदक दिलाउनुका साथै राष्ट्रको पहिचान अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान गरेको बताए ।

प्रदेशको खेलकुद गतिविधिलाई व्यवस्थित रुपमा सञ्चालन गर्न प्रदेश खेलकुद परिषद् गठन गर्ने तयारी गरिरहेको पनि उनले स्पष्ट पारे । खेलकुदको विकासका लागि प्रदेशमा एक पालिका एक मैदान स्थापनाको लक्ष्य अनुसार काम अगाडि बढाइएको पनि उनले बताए । खेलकुद पूर्वाधार विस्तार तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण उपलब्ध गराउन प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री राईको भनाइ थियो । सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी मोरङका अध्यक्ष एवम् आइटिफ संस्थापक जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले खेलाडीले अनुशासित भई विश्व खेल प्रतिस्पर्धामा नेपालको नाम उच्च राख्न सकोस् भन्ने शुभकामना दिए ।

कोरोना महामारीका कारण खेलकुद क्षेत्र सर्वाधिक प्रभावित भएको आइटिएफका केन्द्रीय अध्यक्ष अन्जन धमलाको भनाइ थियो । साथै उनले खेलकुद क्षेत्रको उन्नयनमा राजनीतिक हस्तक्षेप बाधक भएको धारणा राखे । सैद्धान्तिक प्राविधिक, व्यावहारिक, आत्मसुरक्षा लगायतका विषयमा केन्द्रीत रहने प्रशिक्षणमा प्रदेशका १३ जिल्लाका पाँच वर्षदेखि २३ वर्षसम्मका दुई सय खेलाडीको उपस्थिति रहेको छ ।