इटहरीः नेपाली कांग्रेस, इटहरीले महाधिवेशनको पूर्वतयारीको कार्य सुरु गरेको छ ।

इटहरी कांग्रेसले उपमहानगरपालिका भित्रका २० वटै वडामा क्रियाशील सदस्यता नविकरण गर्ने कार्य ३ दिनभित्र सम्पन्न गर्नेगरी महाधिवेशनको तयारी सुरु गरेको हो । नगर सभापति हेमकर्ण पौडेलको अध्यक्षतामा सम्पन्न जिल्ला अनुगमन प्रतिनिधि, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, नगर, वडा र भ्रातृ संघसंस्थाका अगुवा नेता कार्यकर्ताहरुको भेलामा वडाले तीन दिनभित्र सदस्यता नवीकरणको कार्य सम्पन्न गर्ने निर्णय गरेको जिल्ला अनुगमन प्रतिनिधि तथा सहसचिव नगेशचन्द्र राईले बताए ।

आगामी फागुनमा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका कोभिड १९ का कारण प्रभावित भएपनि फागुनमा स्थानीय तह सम्मको भएपनि अधिवेशन प्रारम्भ हुन सक्ने भएकाले सुनसरी जिल्ला कार्यसमितिले पौष ७बmउस गतेभित्र सदस्यता नवीकरणको कार्य सम्पन्न गर्ने निर्णय गरेबमोजिम सहजीकरण र अनुगमनका लागि प्रतिनिधि खटी आएको जिल्ला अनुगमन प्रतिनिधि तथा जिल्ला प्रवक्ता एवम् सचिव सुजेन्द्र गोले तामाङले बताए । उनले पार्टी छोडी गएका, वागी उम्मेदवार र उनको प्रस्तावक तथा समर्थक बसेका, पटकपटक आग्रह गर्दा पनि नवीकरण गर्न इन्कार गर्नेबाहेक सबैको तोकिएको शुल्क लिई नवीकरण गर्न आग्रह गरेका छन् । त्यसैगरी नेपाली कांग्रेस र तत्कालीन लोकतान्त्रिक फोरमका सदस्यहरुको नवीकरण फारम सट्टापट्टा नहुनेगरी अलग अलग भर्नसमेत उनले आग्रह गरेका छन् ।

जिल्ला सचिव केदार भण्डारीले क्रियाशील सदस्यतासम्बन्धि कुनै गुनासो वा उजुरी नपर्ने गरी निर्विवाद ढंगले नवीकरण गर्न र फारम अपुग भएमा जिल्लाले थप फारम उपलब्ध गराउने बताए । सभापति हेमकर्ण पौडेलले नवीकरण शुल्क र तोकिएको लेवी सक्नेले अनिवार्य बुझाउन र पार्टी सञ्चालनमा सहयोगका साथै पार्टीप्रति माया लाग्ने गरी र अपनत्व महसुस हुनेगरी प्रत्येक क्रियाशील सदस्यले हर तरहको योगदान गर्न तथा आआफ्नो जिम्मेवारी वहन गर्न आग्रह गरे । भेलामा महासमिति सदस्य भरत गौली, जिल्ला सदस्यहरु दीपक ढकाल, फूलराज सुवेदी, रुपा कार्की, रमला तामाङ, मेयरका प्रत्यासी रोहित प्रसाई, महासमिति सदस्य एवम् नेपाल तरुण दलका जिल्ला सभापति सिजन गुरुङ, महाधिवेशन प्रतिनिधि राजु राय लगायतको उपस्थिति रहेको थियो ।