इटहरीः कृषिको लागि उर्वर रहेको प्रदेश एकले सबै कृषिजन्य वस्तुमा मुलुकलाई नै आत्मनिर्भर बनाउन सक्ने प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले बताए ।
बुधबार इटहरीको समावेशी कृषि बजारको उद्घाटन गर्दै राईले प्रदेश १ को माटोमा कृषि शक्ति धेरै रहेको भन्दै एक नम्बर प्रदेशले कृषिजन्य वस्तु उत्पादन गरी पुरै राष्ट्र आत्मनिर्भर बनाउन सक्ने बताएका हुन् ।
प्रदेश सरकारले पहिलो प्राथमिकतामा कृषिलाई राखेको जानकारी दिँदै कृषिको विकास र बिस्तारमा सरकार योजनाबद्ध रूपमा अघि बढ्ने काम भइरहेको उनले बताए । ‘गाउँगाउँमा कोल्ड स्टोर राखेर स्थानीय किसानको उत्पादनलाई व्यावसायिक रूपमा बजारसम्म ल्याउने वातावरण प्रदेश सरकारले तयार पार्दै छ’, मुख्यमन्त्री राईले भने, ‘सहकारितामा कृषि पेशालाई जोडेर हामी प्रत्येक किसानलाई उत्पादनको उचित मूल्य दिने वातावरण तयार पार्दै छाँै ।’
हरेक गाउँमा कोल्ड स्टोर राख्नुपर्ने आवश्यकता रहेको भन्दै किसानले उचित मूल्य पाए मात्र कृषिको व्यावसायिकता सम्भव हुने उनले बताए । साना किसानलाई सहकारीमार्फत् र ठूलालाई कम्पनीमार्फत् समेट्दै सबै क्षेत्रका किसानको समूह बनाई आधुनिक औजार र उपकरणको सहायताले उत्पादन वृद्धितर्फ जानुपर्ने उनले उल्लेख गरे ।
राईले हिमाल, पहाड र तराईका विभिन्न जिल्लाका किसानहरूलाई सङ्गठित गरेर अर्गानिक तरकारी उत्पादन गर्न प्रदेश सरकारले पहल शरु गरिसकेको पनि जानकारी दिए । हिमाली जिल्लामा जडीबुटी केन्द्र, पहाडी जिल्लामा तरकारी बालीको केन्द्र र तराईका जिल्लामा खाद्यान्न बालीको हबको रूपमा प्रारूप तयार पार्दै गरेको उनको भनाइ थियो । समानान्तर रूपमा माटोको प्रकृतिको जाँच गरी कृषि उत्पादनमा प्रदेश सरकारले विज्ञ मार्फत् योजना निर्माण कार्य जारी राखेको बताए ।
सुपथ मूल्यमा सोझै किसानको खेतबाट नै कृषि उत्पादन खरिद गरी सोझै उपभोक्तासम्म पु¥याउन सकारात्मक भूमिका खेल्ने भन्दै समावेशी कृषि बजार टिमलाई उनले धन्यवाद दिएका थिए । बिचौलियाको बजारमा सुपथ मूल्यमा उपभोक्ताले खरिद गर्न सक्ने व्यावसायिक किसानहरूले देखाएको साहसिक कार्यप्रति प्रदेश सरकारको तर्फबाट उनले बधाई दिएका थिए । उनले बजारलाई प्रदेश सरकारले सकेसम्म सहयोग गर्ने वचन समेत दिए ।
झण्डै ३ करोडको लगानीमा बनेको समावेशी कृषि बजारले प्रविधिको प्रयोग गरेर किसानको उत्पादन सिधै उपभोक्ताकोमा पु¥याउन लागेको हो । भान्सामा प्रयोग हुने सम्पूर्ण सामग्री मोबाइल एप्सको सहायताले उपभोक्ताहरूलाई घरसम्म पु¥याउने व्यवस्था गर्ने सञ्चालकको भनाइ छ । समावेशी डिपार्टमेण्ट एण्ड कृषि बजार बिचौलियामुक्त बजारको रूपमा रहेको बजार सञ्चालक समितिका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उनले किसानले उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले सहुलियत दरमा कृषि उपज प्राप्त गर्ने थलो रहेको भन्दै यसको शाखा बिस्तारै थप्दै जाने बताए ।