झापाः मेचीनगर नगरपालिकाले अनुगमन गर्दा विभिन्न ठाउँमा सञ्चालनमा रहेका उद्योगले सरसफाइमा ध्यान नदिएको भेटिएको छ ।

केही साता अघिदेखि अनुगमनमा निस्केको मेचीनगर नगरपालिकाको अनुगमन टोलीले बुधबार नगरमा सञ्चालित उद्योग र मिठाइ पसलको अनुगमन गरेको थियो ।

उद्योगबाट उत्पादन भएका वस्तु सामान्य पाइए पनि सरसफाइमा खासै ध्यान नदिएकाले उद्योग परिसर सफाइ गर्न सञ्चालकलाई निर्देशन दिइएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा मेचीनगर नगरपालिका मार्फत् गरिएको अनुगमनमा मोहन किराना पसल मेचीनगर– १३ बाट लेबल नभएको, ढुसी र कीरा परेको किसमिस करिब ५ केजी जफत गरिएको नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले जानकारी दिए । व्यवसायीले खाद्य तथा अखाद्य वस्तु सँगै राखेकाले टोलीले अलग अलग राख्न समेत निर्देशन दिएको कार्कीले बताए ।

व्यवसायीले उपभोग्य मिति सकिएका वस्तु समेत फिर्ता गर्ने भन्दै उपभोक्ताले देख्ने ठाउँमा राखेकाले त्यसलाई तत्काल फिर्ता गर्न वा हटाउन टोलीले निर्देशन दिएको थियो । व्यवसायीलाई ७ दिनभित्र यसको उचित व्यवस्थापन गर्न समेत टोलीले निर्देशन दिएको छ । फिर्ता नगरे कानुनी कारवाही गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाको सूचना अवज्ञा गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरे कानुनबमोजिम कारवाही तथा ती सामग्री जफत गर्ने, नष्ट गर्ने तथा दण्ड जरिवाना समेत गरिने कार्कीको भनाइ छ ।

टोलीले मेचीनगर–१३ मा रहेको सुशीला भेराइटिजबाट पहेलो रङ लगाएको सिन्के चाउचाउ ३ दशमलव ६ केजी जफत गरी नष्ट गरेको छ । टोलीले म्याद गुज्रेका बिस्कुटसमेत जफत गरेको छ । श्री मिष्ठान्न भण्डारबाट उपभोग्य मिति समाप्त भएको ४ सय ग्राम भुजिया जफत गरी नष्ट गरेको छ । श्री अन्तु मिष्ठान्न भण्डारलाई होटलमा रहेका परिकार छोप्न पत्रिका प्रयोग नगर्न निर्देशन दिइएको छ । टोलीले सूर्य एग्रोको पनि अनुगमन गरेको थियो ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका चुडाराज भट्टराई, मेघराज निरौला, खाद्य विश्लेषक कार्की, खाद्य प्रयोगशाला काँकरभिट्टका दिनेश ढुङ्गाना सहभागी थिए । त्यस्तै, प्रहरी चौकी चारआलीका उत्तमकुमार कार्की, उद्योग वाणिज्य सङ्घ चारआलीका शरद शिवाकोटी र मेची उद्योग वाणिज्य सङ्घका धु्रव कनाललगायतको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।