दुहबीः दुहबीका अधिकांश पसलले अव्यवस्थित ढङ्बाट व्यवसाय गर्ने गरेको भेटिएको छ ।

दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल (साह) नेतृत्वको अनुगमन टोलीले बुधबार गरेको अनुगमनका क्रममा किराना पसल, होटल सुनचाँदी पसललगायतमा यस्तो भेटिएको हो ।

अनुगमनको क्रममा दुहबी–५ स्थित अन्नपूर्ण किराना पसलमा खाद्य र अखाद्य वस्तु एकै ठाउँमा राखी उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गरेको पाइएको थियो । यसैगरी, दुहबी–५ स्थित सुनसरी सपिङ सेन्टरमा लेबल विवरणबिनाका सामान पाइएको थियो । दुहबीका होटल पनि अव्यवस्थित पाइएको थियो ।

खाद्य तथा गुण नियन्त्रण कार्यालयका अधिकृत विक्रम लिम्बू, सुनसरी जिल्ला प्रशासन कार्यालयका अधिकृत गुणनिधि दाहाल, दुहबी नगरपालिकाका श्रवण दाहाल, दुहबी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुनिलकुमार साह, इलाका प्रहरी कार्यालय दुहबीका सई आइतबहादुर तामाङ लगायतले दुहबी बजार अनुगमन गरेका थिए ।

सुन पसलेले ताला लगाए
बजार अनुगमन भइरहेको थाहा पाएपछि दुहबीका धेरैजसो सुनचाँदी व्यवसायीले आफँै पसल बन्द गरेका थिए । धेरैजसो पसलेले नापतौल गर्ने तराजु जाँच गर्ने र नवीकरण गर्ने काम नभएको हुनाले बन्द गरेको हुन सक्ने एक व्यवसायीले बताए ।
अनुगमनको क्रममा अधिकांश पसलमा मूल्यसूची टाँसेको पाइएको थिएन । उपमेयर दाहालले व्यापारीहरुलाई सचेत गराउन अनुगमन गरिएको बताइन् । अनुगमन टोलीले अव्यवस्थित ढङ्गबाट व्यवसाय गरी उपभोक्ता ठग्दै आइरहेका व्यापारीलाई सचेत गराएको थियो ।

यसरी सचेत मात्र गराउने प्रवृत्तिले उपभोक्ता मारमा परेको दुहबीका स्थानीय बताउँछन् । हरेक वर्ष चाडपर्व आउने बेलामा मात्र अनुगमन गरिने अनि गल्ती भेटिँदा पनि कारवाही नगर्ने गरिएको उपभोक्ता बताउँछन् । दण्ड जरिवाना नगर्ने प्रवृत्तिले उपभोक्ता मारमा परेको स्थानीयको गुनासो छ । चाडबाड नजिकिँदै जाँदा दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि समेत हुन थालेको छ ।

खाद्यान्नदेखि लत्ताकपडा र घरायसी सामानमा मूल्य बढ्दा उपभोक्ता मर्कामा परेका छन् । सरोकार पक्षबाट समेत मूल्यवृद्धि नियन्त्रणको प्रयास तथा अनुगमन नहुँदा आफूहरू पीडित हुनुपरेको उपभोक्ताको गुनासो छ । चाडबाडको मुखमा व्यापारीले समेत मनपरी मूल्यवृद्धि गर्ने गरेको पाइएको छ । खाद्यवस्तुमा मिसावट र सडेगलेका वस्तुहरू समेत यही मौकामा बिक्री हुने भएकाले उपभोक्ताको स्वास्थ्यमा समेत असर पुग्ने गरेको उपभोक्ता बताउँछन् ।