इटहरीः धनकुटाको धनकुटा नगरपालिकाले कोरोना महामारीका कारण रोजगारी गुमाएका युवाहरुलाई आत्मनिर्भर बनाउन वित्तिय सहायता उपलब्ध गराउने उद्देश्यले दुई करोड ५० लाख रुपैयाँको पुनरुत्थान कोष स्थापना गरेको छ ।
नगरपालिकाका मेयर चिन्तन राईका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् युवाहरुलाई अल्पकालीन रोजगारी दिनुका साथै नगरपालिकाले सञ्चालन गरेको कोषमार्फत् व्यावसायिक प्रयोजनका लागि पुँजीसमेत उपलब्ध गराउने भएको छ । व्यवसायको प्रकृति र आकारका आधारमा न्यूनतम ३५ हजार रुपैयाँको पुँजी नगरपालिकाले उपलब्ध गराउने उनको भनाइ छ ।