विराटनगरः स्वदेशी तथा विदेशी लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ता र उपभोक्ता समेट्न विराटनगरमा विराट ट्रेड एक्स्पो आयोजना गरिने भएको छ ।
प्रदेश १ लाई व्यापारिक तथा औद्योगिक क्षेत्रको रूपमा अन्तर्राष्ट्रियस्तरसम्म पहिचान गराउने उद्देश्यसहित नौ दिनसम्म विराट ट्रेड एक्स्पो आयोजना गरिने भएको हो ।
मोरङ व्यापार सङ्घले आयोजना गर्ने एक्स्पोलाई अन्तर्राष्ट्रियस्तरको बनाउन भारत, बङ्गलादेश र पाकिस्तानका लगानीकर्ता समेतलाई भित्र्याउने उद्देश्य राखिएको छ । बृहत र अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजनाको तयारी थालिएको एक्स्पो आगामी पुस ६ गतेदेखि १४ गतेसम्म हुने आयोजक मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार सारडाले जनाए ।
एक्स्पोबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सारडाले नेपालका घरेलु, मझौला तथा ठूला उद्योगका उत्पादन प्रवद्र्धनदेखि विदेशका वस्तु समेत स्टलमा रहने दाबी गरे । नेपालमा औद्योगिक विकासको सम्भावना देखाउने उद्देश्य राखेर विदेशी लगानी भित्र्याउने योजना बनाइएको एक्स्पोमा २ सय ७५ स्टल राखिने जनाइएको छ ।
३ लाख जना दर्शकले एक्स्पोको अवलोकन गर्ने दाबी गरिएको एक्स्पोमा ३० करोडको कारोबार हुने अपेक्षा राखिएको छ । पहाडी जिल्लाका खनिजजन्य र कृषिजन्य वस्तुलाई विशेष आकर्षक रूपमा एक्स्पोमा राखेर विदेशसम्म प्रचारप्रसार गराउने अध्यक्ष सारडाको भनाइ छ ।
चार भागमा विभाजन गरिएको एक्स्पो २४ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलने बताइएको छ । जसमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा साङ्गीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहने छ । क्षेत्रगत रूपमा प्रदर्शनी कक्ष अलग–अलग निर्माण गरेर स्टल राखिने मेला तथा प्रदर्शनी समितिका संयोजक अनुपम राठीले बताए ।
संयोजक राठीका अनुसार अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल र इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडीबुटी, पर्यटन र दैनिक उपभोग्य वस्तु स्टलमा रहने छन् । यसैगरी हस्तकला तथा तयारी पोशाक, जुत्ताचप्पलका स्टल पनि प्रदर्शनीस्थलमा रहनेछन् ।
मेलामा राखिएका स्टललाई अक्टानोर्म विधिबाट सजाइने र नेपाली संस्कृति झल्कने प्रवेशद्वार निर्माण गरिने बताइएको छ । सांस्कृतिक कार्यक्रमअन्तर्गत ट्यालेन्ट रियालिटी शो आयोजना गरिने बताइएको छ ।
मेलामा प्रदेश तथा केन्द्रका विभिन्न मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, जिल्ला समन्वय समिति तथा विराटनगर महानगरपालिकासँग समन्वय र साझेदारीको अपेक्षा राखिएको सङ्घका महासचिव नवीन रिजालले जनाए ।
सङ्घले २०५३ सालमा कोशी महोत्सव, २०५७ सालमा पूर्वाञ्चल औद्योगिक व्यापार मेला, २०६२ र २०६९ सालमा विराट महोत्सव आयोजना गरिसकेको छ ।