बेलबारीः बेलबारी नगरपालिकाले १७ औं राष्ट्यि महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा आज ४ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ ।
नगरपालिकामा आयोजित एक कार्यक्रममा देबिमाया बस्नेत,मन्जु कार्की,टीका देबि पोख्रेल र शोभा कार्कीलाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत योगदानको कदर गर्दै नगरपालिका स्वास्थ्य शाखाले सम्मान गरेको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।
कार्यक्रमकी प्रमुख अतिथि बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा गरेको उल्लेखनीय भुमिकाको चर्चा गर्दै समाजमा महिला स्वास्थ्य स्वयंसेविका घरघरको डाक्टर भएकोले स्थानीय सरकारले उचित संरक्षण र हौसला दिंदै आएको र भोलिका दिनमा नगरपालिकाले आवश्यकता अनुरुप सहयोग गर्ने बताइन्।
कार्यक्रममा महिला स्वयंसेविकाहरुको तर्फबाट गोमा खुलालले आफ्ना कुराहरु राख्दै नगरपालिकाले आफूहरुको योगदानको मूल्यांकन गर्दै आएकोमा स्थानीय सरकार र जनप्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गरिन्।