इटहरीः नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली हिजो बिहान ताप्लेजुङ भ्रमणमा आएकोमा सो भ्रमणपछि इलामको भ्रमण गर्ने कार्यक्रम तय गरिएको थियो ।

प्रधानमन्त्रीको भ्रमणको पूर्वतयारीस्वरुप सुरक्षा व्यवस्था कडा पारिएको थियो । देशका चारै ओटा सुरक्षा निकाय प्रधानमन्त्रीको सुरक्षार्थ विषेश तदारुकताका साथ परिचालित थिए । तर मौसमको प्रतिकूलताका कारण प्रधानमन्त्री ओलीको इलाम भ्रमण स्थगित हुन पुग्यो । ओली ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ घुन्सामा निर्मित सामुदायिक स्वास्थ्य इकाइ कार्यालयको भवन उद्घाटनमा मात्र सहभागी भई इलाम नआई सोझै विराटनगर विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्था उत्पन्न भयो ।

दिउँसो १ बजे इलाम आउने कार्यतालिकासहित सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङका साथमा ताप्लेजुङ आएका प्रधानमन्त्री ओली दिउँसो १ः३० बजेसम्म ताप्लेजुङमै रोकिन पुगे । १ः३० बजे इलामका लागि प्रधानमन्त्री ओली सहितको टोलीलाई लिएर उडान भरेको हेलिकप्टर मौसममा आएको बदलीका कारण इलाम अवतरण गर्न नसक्ने भयो । भ्रमण टोलीले उडान भरेको जानकारी पाएलगत्तै प्रधानमन्त्रीको स्वागतका लागि खादा र मालासहित लामबद्ध भएर बसेका सर्वसाधारणले अचानक उडान विराटनगरतर्फ मोडिएको जानकारी पाए ।

प्रधानमन्त्रीको स्वागतका लागि बसेका सर्वसाधारणमा उडान भरेको ३० मिनेटपछि विमान विराटनगर मोडिएको खबरले निराशा उत्पन्न गरिदियो । अन्ततः प्रधानमन्त्री आउन नसक्ने निश्चित भइसकेपछि उनको स्वागतका लागि ल्याइएका खादा र माला कार्यक्रमस्थलमा उपस्थित प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका गलामा पहिर्याई उनलाई नै अतिथि सत्कार प्रदान गरी सर्वसाधारणले कार्यक्रम सम्पन्न गरे ।