झापाः नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर मेचीनगर नगरपालिकाले साना व्यवसायीलाई १ महिनाका लागि नगरपालिकाले तोकेको स्थानमा व्यवसाय गर्न दिने भएको छ । तर, व्यवसायीले नगरपालिकाले तोकेको स्थानमा मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने बताइएको छ ।

नगरलाई सफा राख्नका लागि सडकको दायाँबायाँ तथा फुटपाथमा व्यवसाय गरिरहेका व्यवसायीलाई नगरपालिकाले केही समय अघि उठाएको थियो । अहिले चाडपर्वलाई लक्षित गरेर असोज २३ देखि कात्तिक २७ गतेसम्म नगरपालिकाले तोकेको क्षेत्रभित्र नगरपालिकाले बनाएको नियममा रही व्यवसाय सञ्चालन गर्न दिने नगरले जनाएको छ ।

बजारको व्यवस्थापनका लागि कार्यालयका तर्फबाट नगर प्रहरी हवल्दार दिनेश गुरागाईँलाई संयोजक तोकिएको नगरपालिकाले जनाएको छ ।

व्यवसाय सञ्चालन गर्न दिन दिलबहादुर कार्की, ढाकाप्रसाद पुरी, गीता श्रेष्ठ, सीता उप्रेती, राजु कार्की, टंक रिजाल, दीपा श्रेष्ठ र सुबु गुप्तासहितको ७ सदस्यीय व्यवस्थापन समिति निर्माण गरिएको छ ।

सो समितिको निर्देशनअनुसार तोकिएको क्षेत्रमा मात्र खुद्रा पसल सञ्चालन गर्नुपर्ने बताइएको छ ।