इटहरीः इटहरीलाइ स्मार्ट सिटी बनाउने हल्ला मात्र चालिरहेको बेला इटहरीमै निजी क्षेत्रले भने स्मार्ट तरकारी बजार शुरु गर्ने भएको छ ।
झन्डै ३ करोडको लगानीमा शुरु हुन लागेको समावेशी कृषि बजारले प्रविधिको प्रयोग गरेर किसानले उत्पादन गरेको उत्पादन सिधै उपभोक्ताकोमा पुर्याउन लागेको हो ।

भान्सामा प्रयोग हुने सम्पूर्ण सामग्री मोबाइल एप्सको सहायताले उपभोक्ताहरूलाई घरसम्म पुर्याउने व्यवस्था गर्ने सञ्चालकको भनाइ छ ।
किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म न्यूनतम चार स्टेपको बिचौलिया भएर पुग्ने गरेको छ’, समावेशी तरकारी बजारका अध्यक्ष सुरेश भट्टराईले भने, ‘हामीले बिचौलियालाई बाइपास गर्दै किसानको खेतबाट सोझै उपभोक्तासम्म पु¥याउन स्मार्ट विधि प्रयोग गर्न लागेका हौं ।’
इटहरी–४ आइतबारेमा रहेको सहुलियतपूर्ण बजार साढे १ कट्ठा क्षेत्रफलमा निर्माण भइसकेको छ । इटहरी चोकबाट ३ मिनेटको पैदल दुरीमै पुगिने उक्त बजार ग्राहकको गन्तव्य हुने भट्टराई दाबी गर्दछन् ।
प्राङ्गारिक, कीटनाशक औषधी प्रयोग नभएको र अन्य साधारण गरी ३ किसिमका तरकारी बजारमा उपलब्ध हुने कम्पनीले बताएको छ । झापा, मोरङ, सुनसरी, धनकुटा र तेह्रथुमका विभिन्न किसान समूहसँगको सिधा समन्वयमा सब्जी खरिद गरिने र सहुलियत मूल्यमा उपभोक्तामा पु¥याउने कम्पनी अध्यक्ष भट्टराई बताउँछन् ।

प्रालिले ६ सय १३ कृषि समूहहरू स्थापना गरेका छ । जसले गर्दा समावेशीलाई तरकारीको खाँचो नहुने सञ्चालक बताउँछन् । ‘हाम्रा समूहबाहेक अरू किसानहरूसँग पनि हाम्रो सम्पर्क छ जसले गर्दा समान अभावको समस्या हामीलाई हुँदैन ।’
इटहरी लगायत आसपासको बजारलाई समेत प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने समावेशी तरकारी बजारको बुधबार मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कम्पनीले जनाएको छ