खोटाङः जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको बाँकी रहेको दोस्रो चरणको ढलान प्रक्रिया सुरु गरिने भएको छ ।
पहिलो चरणमा दिक्तेल रत्नपार्कको जिरो पोइन्टबाट ढलान प्रकृया सुरु भएर पुरानो बेसक्याम्पसम्म ढलान निर्माण सम्पन्न भइसको छ भने बाँकी रहेको दोस्रो चरणको ढलान प्रकृया अगाडि बढाउन साथै दिक्तेल बजारको समस्याका सम्बन्धमा आइतबार आफूले शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठसँंग भेटवार्ता गदैँ तत्कालै बाँकी रहेको बजारको दोस्रो चरणको ढलानको लागि डिपिआर अनुसार लाग्ने कुल रकम ९ करोड ७० लाख बजेट विनियोजित गराउनको लागि पहल गरेसँगै मन्त्री क्षेष्ठले बाँकी रहेको पूरै दिक्तेल बजार ढलान गर्न सहरी विकास मन्त्रालयबाट ९ करोड ७० लाखको बजेट विनियोजित गर्ने वचनकबोल गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए ।
कच्ची तथा साँघुरो बाटो रहेको दिक्तेल बजारमा ढलान नहुँदा जिल्लावासीले हिउँदमा धुलो र बर्खामा हिलोको समस्या भोग्नु परेकोमा २०७६र७७ मा संघीय सरकार,प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा करिब ७ करोडभन्दा बढी रकम खर्च गरी आधा बजार ढलान गरिसकेको र यो आर्थिक वर्षमा दिक्तेल बजार पूरै ढलान गर्ने नगरप्रमुख रिजालले बताए । केही दिन भित्रमा मन्त्रालयबाट विनियोजित भएर आएको पैसा प्रकृया पूरा गरेर टेन्डर आवाह्रन गरी ढलानको काम अगाडि बढाउने रिजालले बताए ।