धरानः नेपालीहरुको महान चाड तिहार र छठलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले भोलि सोमबारदेखि मंसिर ६ गतेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले फेरि मंसिर ६ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । नेपालीहरुको महान चाड तिहार र छठलाई मध्यनजर गर्दै सूचना समेत जारी गरी निषेधाज्ञा जारी गरेको हो । सूचनामा देउसी–भैलो जुवा, तास खेल्न नदिने, मेलाजात्रा सञ्चालनमा रोक, भजन कीर्तनमा समेत रोक लगाइएको छ । यस्तै, आउँदै गरेको छठ पर्वका बेला पनि सार्वजनिकरुपमा नदी, तलाउ, पोखरी तथा नहरहरुमा गरिने पूजाआजा समेतलाई रोक लगाइएको छ ।
मन्दिर शक्तिपीठ र समाजमा सामूहिकरुपमा गरिने क्रियाकलाप समेत रोक्ने भएको छ । सुनसरीमा कोरोना संक्रमित समेत बढ्दै गएको भन्दै भोलि २४ गते देखि मंसिर ६ गतेसम्म सुनसरी जिल्लाभर निषेधाज्ञा जारी गरेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीले एक सूचना जारी गर्दै जनाएका हुन् ।
स्थानीय प्रशासन ऐन २०२८ तथा संक्रामक रोग एन २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको हो । सूचना अनुसार यस अवधिमा देउसी, भैलो खेल्नलाई पनि निषेध गरिएको छ ।