भूमिप्रसाद पाठक
पथरीः मोरङको पथरीशनिश्चरे नगरभित्र नेपाल टेलिकमले आफ्नो फोर–जी सेवा विस्तार गर्ने भएको छ ।

सामाजिक सञ्जालबाट जनगुनासो पाएको टेलिकमले हिजो मूलतः पथरीशनिश्चरे नगरपालिकाको वडा नं। १० स्थित जिरिखिम्ती खण्डमा स्थलगत अवलोकन गरेसँगै वडा नं ८ का नेकपा नेता प्रकाशबहादुर कार्कीको पहलमा दुर्गा आधारभूत विद्यालय, शुक्रबारे, सोमबारे, पशुपतिचौक, दोहलुलगायत क्षेत्रको समेत सेवा प्रवाहको अवस्थाको अध्ययन गरेको छ ।

नेकपाका युवा नेता युवराज बास्कोटाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत एउटा स्टाटस लेखेपछि केहीबेरमै नेपाल टेलिकमका पदाधिकारीको ध्यानाकर्षण भई हिजो मध्यान्ह क्षेत्रीय निर्देशक अमित भगतको निर्देशनमा नेपाल टेलिकमका इञ्जीनियर शिशिर फूयाँल र सिनियर टेक्निसियन राजीवरञ्जन राउतको टोलीले स्थलगत निरीक्षण गरेको हो । वडा नं १० का कार्यवाहक अध्यक्ष मैनादेवी आचार्य फूयाँलले नेपाल टेलिकमको द्रुततर सेवा प्रवाहका लागि भएको प्रयासप्रति खुशी व्यक्त गर्दै स्थलगत अध्ययन आरम्भ गर्न लागेको टोलीलाई स्वागत गरेकी थिइन् ।

यसलगत्तै वडा नं ८ मा पुगेको प्राविधिक टोलीले चौतर्फी अध्ययन गरेसँगै केही प्रक्रिया पूरा गरेर यस क्षेत्रमा फोर–जी सेवा विस्तार हुने इञ्जीनियर फूयाँलले बताए । उनले अहिलेसम्म कतैबाट गुनासो नभएकोले नेपाल टेलिकमको ध्यान नपुगेको जिकीर गर्दै तत्काल सेवाको गुणस्तर सुधार गरी केही समयपछि टावर राखेर यहाँको सेवा–प्रवाह चुस्त पारिने बताए ।

 स्थलगत अध्ययन, अनुसन्धान र प्रतिवेदन निर्माण कार्यमा स्थानीय नेता प्रकाशबहादुर कार्की, शैक्षिक व्यक्तित्व अर्जुनबहादुर तामाङ, युवा व्यक्तित्व बाबुराम चौधरी र सञ्जीव भण्डारी, पत्रकार भूपेन्द्र तिम्सिना र स्थानीय सामाजिक अभियन्ता सन्तबहादुर तामाङको सक्रिय संलग्नता रहेको थियो ।