धरानः जनता समाजवादी पार्टीले लामो समय देखि विवादित बनेको धरानको खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने धरान उपमहानगरपालिकाको निर्णय प्रति विरोध जनाएको छ ।
धरान उपमहानगरपालिकाको कार्तिक ५ गते बसेको कार्यपालिका बैठकले कार्तिक २६ गते संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णय गरेको थियो । मर्ज गर्ने समय नजिकिदै गए पछि पार्टीको धरान उपमहानगर कमिटीले प्रेस विज्ञप्ती जारी गर्दै निर्णयको भत्र्सना गर्दै विरोध जनाएको छ । कमिटी अध्यक्ष ताजुब लिम्बुद्वारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको र निर्णय कार्यान्यवन भए सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।
विज्ञप्तीमा लेखिएको छ, ‘धरान खानेपानी आयोजनाको शुरुवात देखि नै पानीको दीर्घकालिन मुहान, बजेटको सही सदुपयोग, पारदर्शिता, जवाफदेहिता, कार्यसम्पादन र परिणामको विषयमा विरोध, सहमति, विवाद र छलफलको विषय बन्दै आई रहेको सर्व विदितै छ । तत्कालिन अवस्थामा धरान उपमहानगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संघर्ष समिति संग ११ बुँदे सहमति गरे पश्चात धरान खानेपानी आयोजनाले आफ्नो निर्माण कार्य अगाडी बढाएको थियो । उक्त सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संघर्ष समितिमा तत्कालिन संघीय समाजवादी पार्टी हाल जनता समाजवादी पार्टी सहभागी पक्ष भएकोले धरान खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भए पछि विगत ९, १० महिना देखि पानी उत्पादन र वितरण गरि रहेको अवस्थामा ११ बुँदे सहमतिमा गरिएको प्रतिवद्धता अनुसार पुरा भएको छ कि छैन भनि विश्लेषण तथा मुल्याङ्कन गर्न धरान उपमहानगरपालिका लगायत सम्पुर्ण धरानवासी दाजुभाई तथा दिदीबहिनीहरुमा हाम्रो पार्टी विनम्र आग्रह गर्न चाहान्छ ।’
खानेपानी आयोजनाले लिएको लक्ष्य अनुसार पानी उत्पादन र वितरण पनि नभइरहेको आरोप लगाएको छ । धरान खानेपानी आयोजनाले प्रतिदिन जमिनको भुमिगत श्रोतबाट ७ वटा नयाँ वेल मार्फत पानी उत्पादन गरि रिजर्भवेयर (खानेपानी ट्याङकी) मा ९२ लाख लिटर पानी जम्मा गर्ने र धरान खानेपानी शाखाले उत्पादन गरि रहेको करिब ९जमिनको भुमिगत श्रोतबाट ३ वटा वेल पुरानो र सर्दु खोलाको सतहीपानी० १ करोड २० लाख २० हजार लिटर पानी गरेर जम्मा २ करोड १२ लाख २० हजार पानी उत्पादन गर्ने भनिएको पनि सोही अनुसार नभएको विज्ञप्तीमा उल्लेख छ । लेखिएको छ, ‘वैज्ञानिक वितरण प्रणालि मार्फत २८ हजार धारामा दैनिक न्युनतम १६ घण्टा ७ मिटरको प्रेशरमा पानी वितरण गर्ने आम धराने जनताहरुमा प्रतिबद्धता गरेको थियो ।
तर हाल धरान खानेपानी आयोजनाले उत्पादन गर्ने ७ वटा नयाँ वेलबाट उत्पादन भएको पानी विभिन्न समयमा अनुगमन तथा मुल्याङ्कन गर्दा ६३–६४ लाख पानी मात्र रिजर्भवेयरमा जम्मा भएको पाईएको छ, त्यसको प्रमाणको रुपमा आयोजनाको डिपिआरमा नभएको २ वटा नयाँ वेल निर्माण लिन सकिन्छ भने वितरणलाई हेर्दा कुनै घरमा पानी नआउने, कहीँ पम्प मार्फत पानी तान्नु पर्ने र सहजतरिकाले आएको धाराहरुमा पनि दैनिक बढीमा १ घण्टा वा आधा घण्टा मात्र पानी आइरहेको अवस्था छ ।’
परियोजनाले जनता प्रतिको विश्वास गुमाउँदै गएकाले तत्काल खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्न नहुने पार्टीको दाबी रहेको छ । संस्थानलाई बोर्डमा मर्ज गरे विरोध तथा शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । त्यसले पुर्याउने असर र परिणामको भागिदार स्वयंम धरान उपमहानगरपालिका रहने चुनौती दिएको छ ।