इटहरीः पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा शहरी पूर्वाधार विस्तार गरी नमुना शहरका रुपमा विकसित गर्ने योजना बजेट अभावका कारण अलपत्र परेको छ ।
वि.स.२०८० सम्ममा एक लाख जनसंख्याका लागि पर्याप्त पूर्वाधार विकासको लक्ष्य रहेकोमा ११ साइजको खेल मैदानको निर्माणसमेत अवरुद्ध भएको छ । यसैगरी, निर्माणाधीन अवस्थामा रहेको गण्ेशमान पार्क तथा ल्यान्डफिल्ड साइटको काम सुस्त बनेको छ भने सभाहल निर्माण जग्गा प्राप्त नभएकाले सुरु हुन सकेको छैन । यस्तै, बसपार्कसमेत पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको नयाँ शहर आयोजना कार्यालयका कार्यालय प्रमुख विश्वराम प्रजापतिले जानकारी दिए ।
नमूना शहर स्थापनाका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी तथा सरकारी क्षेत्रको सहकार्यमा लगानी गरिनुपर्ने उनको धारणा छ । पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष अध्यक्ष दीपक नेपालले नयाँ शहर कार्यालयको सुस्त कार्यप्रणलीका कारण पूर्वाधार निर्माण हुन नसक्दा एक लाख जनसंख्या सहितको शहर निर्माण प्रभावित भएको आरोप लगाएका छन् । पूर्वाधार नहुँदा शहरप्रति मानिसको आकर्षण बढ्न नसकेको उनको कथन छ । नयाँ शहर कार्यालयले आफूलाई प्राप्त बजेटसमेत खर्च गर्न सकेको देखिँदैन । कार्यालयको सुस्त कार्यशैलीका कारण मुख्य राजमार्ग क्षेत्रका घरटहरा हटाउने र सडक विस्तार तथा मर्मतसम्भार गर्ने कार्य लामो समयदेखि रोकिएको छ ।
दुई सय जनाको क्षमतासहितको सभाहल निर्माण तथा रंगशाला निर्माणको कामलाई गति दिनका लागि सरकारले बजेट विनियोजन गर्नुका साथै नागरिकले सक्रियता देखाउनुपर्ने अध्यक्ष्क्ष नेपालको भनाइ छ । शहर निर्माणको लागि संघीय र स्थानीय सरकारबीच समन्वय स्थापना गरी बजेट विनियोजन र पारदर्शी खर्च गर्न सके लक्ष्य प्राप्तिमा समस्या नपर्ने स्थानीय भवानी खतिवडाको भनाइ छ ।