इटहरीः पाँचथरको हेवा खोलामा अवैध रुपमा बालुवा,गिट्टीजस्ता नदीजन्य पदार्थको उत्खनन तिव्र रुपमा भइरहेको छ ।
नियमनकारी निकायको उदासिनताका कारण गैरकानूनी रुपमा भइरहेको उत्खनन नियन्त्रण हुन नसकेको हो । नियमन नहुँदा उत्खननमा संलग्नहरुले नदीमा निर्मित पक्की पुलको पाँच सय मिटर दायाँबायाँ उत्खनन गर्न नपाइने व्यवस्थाको समेत ठाडो उल्लङ्घन गरेका छन् । पुलको पिलर नजिकैबाट मनपरि किसिमले उत्खनन हुन थालेपछि सो खोलामा रहेको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पक्की पुल संकटमा परेको छ ।
उत्खखन नरोकिए कुनै पनि बेला पुल टुट्न सक्ने खतरा रहेको छ । पाँचथरका जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटाले तत्काल अनुगमन गरी पुललाई जोखिमबाट बचाउन कदम चाल्ने बताएका छन् । नदीजन्य पदार्थको अनियन्त्रित दोहनकै कारण पुल संकटमा परेको उनले स्वीकार गरेका छन् ।