इलामः चिया क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठन भएको उच्चस्तरीय कार्यदलले काम शुरु गरेको छ । श्रम तथा रोजगार मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा गठन भएको उच्चस्तरीय कार्यदलले चियाको राजधानी इलामको सूर्योदय नगरपालिकाबाट काम शुरु गरेको हो ।
अर्थ मन्त्रालय, कृषि मन्त्रालय, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, चिया तथा कफी विकास बोर्ड, चिया व्यवसायी र चिया क्षेत्रमा सक्रिय ३ वटा मजदुर सङ्गठनका सदस्य रहेको कार्यदलले सूर्योदय नगरपालिका क्षेत्रका अगुवा किसान र मजदुरसँग छलफल अघि बढाएको छ ।
छलफलमा सहभागी मजदुर सङ्गठनका प्रतिनिधिले श्रम ऐन र सामाजिक सुरक्षा ऐनमा तोकिएको सुविधा कार्यान्वयनमा जोड दिएका थिए । चिया मजदुरका प्रतिनिध उमेश रेग्मी र नर्बदा निरौलाले चिया क्षेत्रमा काम गर्ने मजदुरको ज्याला अन्य उद्योगको भन्दा कम राखेको र त्यो पनि उद्योगीहरूले कार्यान्वयन नगरेकाले आन्दोलित हुनुपरेको बताए ।
सरकारले साउन ३१ गते जारीको गरेको राजपत्रमा चिया मजदुरको ज्याला १० हजार ७ सय ८१ रुपैयाँ तोकिएको छ । गत साउन १ गतेदेखि लागू हुने गरी ज्याला तोकिए पनि कार्यान्वयनमा नआएपछि मजदुरले अशोज १० गतेबाट बगान तथा कारखाना आन्दोलनको घोषणा गरेका थिए । चिया मजदुरको मागलाई सम्बोधन गर्दै चिया क्षेत्रको समस्या र समाधानका उपायको सुझाव समेटेर प्रतिवेदन पेश गर्न असोज ९ गते श्रम तथा रोजगार मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।
कार्यदल समक्ष अगुवा किसान डम्बर कटुवालले चिया खेती विस्तार पछिल्लो समयमा नभएको र उद्योगले कच्चापदार्थ नपाउँदा चिया क्षेत्रको समस्या बढ्दै गएको बताए । विषादीरहित चिया उत्पादन गर्न सरकारी सहयोग नहुँदा अर्गानिक प्रमाणीकरणको समस्या रहेको र चिया खेती गर्न बैंक तथा वित्तीय संस्थाले ऋण दिन नमान्ने भएकाले किसान समस्यामा परेको कटुवालले बताए ।
सूर्योदय उद्योग वाणिज्य सङ्घका सदस्य सुजन तिम्सिनाले २०७० सालपछि चिया खेतीको विस्तार नभई उद्योगको सङ्ख्या थपिँदै जाँदा धेरै उद्योगले कच्चापदार्थ नपाएर बन्द हुन थालेको बताए । चिया खेतीको बिस्तारमा अनुदान तथा ऋणको व्यवस्था हुनुपर्ने, अर्गानिक प्रमाणीकरणमा सहयोग हुनुपर्ने र गुणस्तरीय चिया उत्पादनका लागि अनुगमनमा कडाइ गर्नुपर्ने तिम्सिनाको सुझाव छ ।
कार्यदल समक्ष सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले चियाको गुणस्तर निर्माणका लागि न्यूनतम समर्थन मूल्य तोकेको र त्यसपछि चियाको गुणस्तरमा सुधार भई उत्पादन पनि राम्रो भएको बताए ।
अर्थ मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, चिया तथा कफी विकास बोर्ड, उद्योगी, मजदुरका प्रतिनिधि र कार्यदलले आइतबार चिया सहकारी, साना किसान समूह र उद्योगीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
कार्यदललाई चिया उद्योगी, किसान, मजदुर र निर्यातकर्तासँग छलफल गरी २ महिनामा समस्या र समाधानका बारेमा प्रतिवेदन बुझाउन समय तोकिएको समितिका सदस्य दीपक पौडेलले बताए ।
नेपालको १४ जिल्लामा व्यवसायिक खेती हुने चियामा ९ हजार २ सय ३६ किसान तथा चिया उत्पादक व्यवसायी आबद्ध रहेकामध्ये ९ हजार १ सयले व्यक्तिगत रूपमा र १ सय ८ संस्थाले संस्थागत रूपमा चिया उत्पादन गर्दै आएका छन् ।
१२ हजार ६६ हेक्टर जमिनमा चिया खेती हुँदै आएको नेपालमा झापामा ७ हजार १ सय ९५ हेक्टरमा चिया खेती हुन्छ । नेपालमा कुल ११ हजार ४१ वटा बगान रहेका छन् । चिया क्षेत्रमा ५० हजार बढी मजदुरहरू स्थायी रूपमा काम गर्दै आएका छन् ।